राष्ट्रिय सभामा शर्मा : ‘देर आए, दुरुस्त आए’

0
Shares

बाँके ।

७१ वर्षका युवराज शर्मा भन्ने गर्नुहुन्थ्यो– ‘राजनीतिमा दुईवटा सिद्धान्त हुन्छन्, पुस र पुल ।’ आफ्नै राजनीतिक जीवनसँग जोडेर बोल्नुभएका शर्मालाई बाँकेका कांग्रेस कार्यकर्ताले पुस त गरिरहे तर नेताहरुले पुल गरिदिएनन् । जसले गर्दा शर्मा पछाडि परिरहनुभयो ।

२०२५ सालमा गोरखपुरमा बीपी कोइरालालाई भेटेपछि शर्मा बीपीको सिद्धान्तप्रति आकर्षित हुनुभएको थियो । २०२८ सालमा नेविसंघमा शेरबहादुर देउवा सभापति हुँदा शर्मा उपसभापति हुनुहुन्थ्यो । विसं २०३३ सालमा शर्मा नेपाली कांग्रेस, बाँकेको सचिव हुँदा सुशील कोइराला कार्यसमिति सदस्य थिए । शर्मा २०४५ देखि २०४९ सालसम्म कांग्रेस, बाँकेको सभापति हुनुभयो ।

सभापति छँदा नै सुशील कोइरालासँग शर्माको टकराव शुरु भयो । २०५१ सालको संसदीय निर्वाचनमा शर्मालाई टिकट दिइएन । शर्मा क्षेत्र नं. १ र २ बाट वागी उम्मेदवार बन्नुभयो । चुनाव चिह्न साइकलले शर्मालाई पार लगाएन, लडाइदियो ।

कोइराला परिवारको पेलानले शर्मा किनारामा पर्दै गए । राजनीतिमा शर्माको त्याग र बलिदान निरन्तर थियो । पार्टीमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनिरहेका थिए । ‘समय बलवान छ, एक दिन सबको पालो आउँछ’ प्रायः सबैले भन्ने यो उखान शर्माको जीवनमा पनि लागू भएको छ । शर्मा लुम्बिनी प्रदेशबाट माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

राजनीतिमा लागेका पछिल्लो पुस्तामा छिटो माथि पुग्ने होड छ । निष्ठा र सिद्धान्तको कुरा टाढाको विषय बनेको छ । कमाउवादी सिद्धान्त हावी छ । तर, बाँकेका तीन जना जेष्ठ नागरिकले निरन्तर लागिरहेमा एक दिन सफल भइन्छ, पालो आउँछ भन्ने कुरा पुष्टि गरिदिएका छन् । ती व्यक्ति हुन्, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, संघीय सांसद नन्दलाल रोकाय र प्रदेश सदस्य बाबुराम गौतम । यी तीनै नेता समकालीन हुन् ।

२०७५ सालको संघ र प्रदेशको चुनावमा एकसेएक युवा नेताले तँछाडमछाड गरिरहेका बेलामा नेकपा एमालेले माक्र्सवादी सिद्धान्तका अब्बल जेष्ठ नागरिक रोकाय र गौतमलाई टिकट दिएर जिताएको थियो । त्यति बेला निष्ठावान नेता तथा कार्यकर्ताले भन्ने गर्थे– ‘पार्टीले ढिलो–चाँडो सम्झिँदो रहेछ ।’ शर्माको हकमा पनि त्यही भएको छ । शर्माका समकालीन कांग्रेस बाँकेका पूर्वसभापति एवं शर्माभन्दा एक वर्षअघि २०२७ सालमा नेविसंघको उपभासपति भएका प्राज्ञ सनत रेग्मी भन्नुहुन्छ– ‘शर्माको भाग्य बलियो रहेछ । ढिलै भए पनि माननीय हुने मौका पाउनुभयो ।’पार्टीमा सधैं पेलिएका शर्माको प्रतिक्रिया थियो– ‘देर आए, दुरुस्त आए । अर्थात् ढिलै भए पनि राम्रै भयो ।’