आँबुखैरेनीमा न्यायिक इजलास कक्ष

0
Shares

तनहुँ ।

आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ । न्यायिक समितिको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले इजलास कक्ष सञ्चालनमा ल्याएको हो । न्यायिक समितिमा छुट्टै इजलास कक्ष स्थापना गर्नुपर्ने कानुनी प्रावधान अनुरूप प्रभावकारी न्याय निरूपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाको पुरानो भवनलाई इजलास कक्ष बनाइएको उहाँले बताउनुभयो । पुरानो भवनमा रहेको गाउँपालिकाको कार्यालय नयाँ भवनमा स्थानान्तरण भएपछि सोही ठाउँलाई इजलास कक्ष बनाइएको श्रेष्ठले बताउनुभयो ।

यसआघि इजलास कक्ष नहुँदा उपाध्यक्षकै कार्यकक्षमा इजलास कक्ष थियो । ‘कोठाको अभावमा उपाध्यक्षकै कार्यकक्षमा जसोतसो इजलास कक्ष सञ्चालन भएको थियो, त्यसैले सेवा प्रवाहमा कठिनाई हुँदै आएको थियो’, श्रेष्ठले भन्नुभयो– ‘इजलास कक्ष छुट्टै भएपछि न्याय निरूपणमा सहजता आउने अपेक्षा गरेका छौं ।’

न्यायिक समितिले प्रत्येक हप्ताको शुक्रबार न्यायिक समितिको बैठक सञ्चालन गर्ने गरेको छ । उक्त बैठकमा न्यायिक समितिमा परेका विवादको निरुपण गर्ने गरिएको छ । गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद, झैझगडा, श्रीमान्श्रीमतीबीचको हिंसाका घटनासम्बन्धी मुद्दा दर्ता हुने गरेको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा न्यायिक समितिमा आठवटा मुद्दा दर्ता भएकामा पाँचवटा मुद्दा फैसला भइसकेको छ । तीनवटा मुद्दा फछ्र्यौट हुन बाँकी छ । ‘दर्ता भएका मुद्दामा दुवै पक्षबीच छलफल गरी विवाद समाधान गछौं ।’ –श्रेष्ठले भन्नुभयो । न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको छिनोफानो न्यायिक समितिबाटै हुने गरेको र क्षेत्राधिकारभन्दा बाहिरका मुद्दा अदालत पठाउने गरेको उहाँले बताउनुभयो ।

स्थानीय शासन ऐन–२०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहनुभएको छ । वडास्तरमा हुने विवादका घटना मिलापत्रका लागि गाउँपालिकाले ६ वटै वटामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । प्रत्येक मेलमिलाप केन्द्रमा ६/६ जना मेलमिलापकर्ता सूचीकृत गरिएको छ । स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै मिलापत्र गराउन प्रयास गर्ने र त्यहाँ मिलापत्र हुन नसकेका मुद्दा मात्रै गाउँपालिकाको न्यायिक समितिसम्म आउने गरेको छ ।

‘गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रूपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन गत वर्ष नै वडास्तरमा मेलमिलाप केन्द्र सञ्चालनमा आइसकेको छ ।’ –श्रेष्ठले भन्नुभयो । उक्त इजलास कक्षको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शुक्रबार उद्घाटन गर्नुभएको हो ।