मेलौली नगरपालिकाको सेवा बन्द

0
Shares

बैतडी, (नेस) ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाको सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत ५ कर्मचारीमा कोरोना देखिएपछि शनिबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । एन्टिजेन परीक्षणमा नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द भउका छन् ।

यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना संक्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ ।