मुगु ।
हिमाली जिल्ला मुगुका सोरू, रातपानी, पुलु डिपोमा खाध्य मौज्दात शून्य अवस्थामा छ भने सदरमुकाम गमगढीको खाद्यान्न गोदामसमेत रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् ।
गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुष्कर भामले बताउनुभयो । सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन् । जसमा जिरा मसिनो र बास्मती चामल । उहाँका अनुसार २ सय किलो दाल मात्रै गोदाममा मौज्दात छ । २ सय क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भाम बताउनुहुन्छ ।
जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगन्ज, राजापुर, प्रधान कार्यालय काठमाडौं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशीघ्र चामल ढुवानी गर्न पटक–पटक पत्र काट्दा समेत कुनै सुनुवाइ नगरेको शाखा प्रमुख भामको भनाइ छ ।
मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको थियो । जसमा २ हजार क्विन्टलमात्र चामल मुगु पुगेको छ । त्यसमा पनि अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उहाँले बताउनुहुन्छ । हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८० क्विन्टल चामल रहेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने र श्रीकोट, पुलु, डिपो केन्द्र र बिक्री केन्द्रहरु रित्तै भएको भामको भनाइ छ ।
यस वर्ष भित्र्याउन लागेको अन्नबालीमा पानी परेर नोक्सान पुर्याएपछि गाउँमा समेत भोकमरीको संकेत देखिन थालेको छ । सहुलियत दरको चामल कहिले पुग्छ थाहा नभएको खाद्य शाखा मुगुका कर्मचारीले प्रतिउत्तर दिने गरेको चामल लिन सदरमुकाम गमगढी पुगेका सोरु–९ का ताराचन्द्र चौलागाईं बताउनुहुन्छ । गाउँमा भोकमरीको अवस्था सिर्जना हुने भयले मुगुका कालै, धैनकोट, हयागलु, पुरुमुरु, भिई, जिमा, खमालेलगायतका दर्जनौं बस्तीबाट सर्वसाधारण पेट पाल्न कामको खोजीमा भारत, काठमाडौं, सुर्खेतलगायतका शहरी क्षेत्रमा परिवारै लिएर जाने गरेको उहाँको कथन छ ।
‘गाउँमा सरकारी अनुदानको चामल गाउँसम्म नपुग्ने, पुगे पनि ठूलाबडाले यकैपटक किनेर अत्यधिक मूल्यमा बिक्री गर्ने गरेका छन्’, आफ्नो ५ जनाको परिवारसहित भारतको ऊत्तराञ्चलमा लेबर काम गर्न गएका सोरू गाउँपालिकाको रूपबहादुर बम टेलिफोनमा भन्नुहुन्छ– ‘सधैं महँगोमा चामल किन्नुपर्ने अवस्था, अर्काेतर्फ अलिकति भएको अन्न पनि अधिक वर्षाले सखाप पार्यो । त्यसैले कामको खोजीमा यता आएँ ।’कोभिड महामारीको भन्दा पनि भोकमरीको भयले गर्दा बूढाबूढी आमाबाबुलाई घरमै छाडेर आफ्नो ३ जनाको परिवार काठमाडौंमा लेबर काम गरेर बसेको सोरू–८ की रत्नरूपा शाही दुखेसो गर्नुहुन्छ ।
प्रतिक्रिया