टेलर साढे तीन वर्षका लागि निलम्बित

0
Shares

लन्डन, (एजेन्सी) ।

जिम्बावे राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ब्रेन्डान टेलर क्रिकेटबाट साढे तीन वर्ष (४२ महिना) को लागि निलम्बित भएका छन् । टेलरले केही दिनअघि सोसल मिडियामा म्याच फिक्सिङ र कोकिन लिएको स्वीकार गरेको पोस्ट गरेका थिए । यो पोस्ट लगतै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अनुसन्धान गरेको थियो । शनिबार आईसीसीले टेलरलाई दोषी ठहर्याउँदै निलम्बित गर्ने निर्णय सार्वजनिक गर्यो ।

टेलरले सन् २०१९ मा आफु एक भारतीय व्यवसायीबाट ब्ल्याकमेल भएको दाबी गरेका थिए । साथै, उनले म्याच फिक्सिङ गर्नको लागि बुकिसँग १५ हजार डलर लिएको पनि स्विकार गरेका थिए । तर, उनको दाबी छ कि उनले म्याच फिक्सिङ गरेका थिएनन् ।

टेलरको निलम्बित म्याद सकिँदा उनी ३९ वर्ष हुनेछन् । उनले सुधार गृहमार्फत् आफुलाई मानसिक पीडाबाट मुक्त गर्ने योजना बनाइरहेको पनि बताए । टेलरले जिम्बावेका लागि ३४ टेस्ट, २ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टी २० खेल खेलेका थिए । उनले इंग्ल्यान्डको काउन्टी क्रिकेटमा पनि नटिंगमशायरको लागि खेलेका थिए । उनले टेस्टमा २ हजार ३ सय २० रन बनाएका थिए । यस्तै, एकदिवसीयमा ६ हजार ६ सय ८४ रन र टी २० मा ९ सय ३४ रन उनले बटुलेका थिए ।