एपीएफलाई पहिलो आहा–रारा उपाधि

0
Shares

पोखरा ।

विभागीय टिम नेपाल एपीएफ क्लबले पहिलोपटक आहा–रारा गोल्डकपको उपाधि उचालेको छ । सहारा क्लब पोखराको आयोजनामा भएको २०औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले पहिलोपटक उपाधि उचालेको हो । उपाधिसँगै एपीएफले १० लाख १ हजार नगद प्राप्त गर्दा मनाङले ५ लाख १ हजार नगद हासिल गर्यो ।

अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा एपीएफका कप्तान नवीन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मन्ड वेडोमले गोल गरे ।

मनाङका लागि फ्रेन्कलिन कुते, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गरे । ओलावालेको प्रहारलाई भने एपीएफका जापानी गोलरक्षक कुरियामा युयाले रोके । यसअघि, निर्धारित समयमा एपीएफका लागि युवराज खड्का र रवि थिंगले गोल गरेका थिए । मनाङका लागि दयानन्द सिंह र फ्रेन्कलिन कुतेले गोल गरेका थिए ।

पहिलो हाफमा अग्रता लिएको एपीएफले १–० को अग्रता जोगाउन नसक्दा जितका लागि टाइब्रेकरको सहारा लिनुपरेको हो । एपीएफले खेलको २१औं मिनेटमा गोल गर्दै अग्रता लियो । अर्मन्ड वेडोमको पासमा युृवराजले गोल गरेका थिए । मनाङले खेल शुरू भएको दोस्रो मिनेटमा नै अग्रता गर्नबाट चुक्यो । ओलावालेको प्रहारमा एपीएफका गोलरक्षक कुरियामाले बचाउ गरे ।

खेलको पाँचौं मिनेटमा अर्मन्डको हेड प्रहार बाहिरिँदा गोल गर्नबाट चुक्यो । १३औं मिनेटमा मनाङका प्रवेश कुँवरको फ्रिकिक प्रहार बाहिरियो । २४औं मिनेटमा अर्मन्डको हेडरमा गोलरक्षक अशोक बराल बाधक बन्दा एपीएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । ३०औं मिनेटमा ओलावालेको हेडर गोलरक्षक कुरियामा बचाउ गर्दा मनाङको बराबरी गर्ने अवसर गुम्यो ।

३३औं मिनेमा मनाङले बराबरी गर्ने अवसर खेर फाल्यो । राजेश परियारको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरीयो । ह्यान्डबलको अपिल गरे पनि रेफ्रीले कुनै प्रतिक्रिया दिएनन् । ४०औं मिनेटमा नविन लामाले क्रसमा डिफेन्डर अदित्य चौधरीको हातमा लाग्न पुगेको थियो । उनी घाइते हुन पुगे । उनको हातमा चोट लागेको थियो । उनलाई गम्भिर चोट लागेपछि अस्पताल लगिएको छ ।

१ गोलले पछि परेको मनाङ ६७औं मिनेटमा दयानन्दको गोलमार्फत खेलमा फर्कियो । सरोज योञ्जन र कप्तान विमल रानाको तालमेलमा विमलले कटाएको बलमा उनले उत्कृष्ट गोल गरे । खेलको ८४ औं मिनेटमा फ्रन्कलिनले हेडमार्फत गोल गर्दा मनाङले २–१ को अग्रता लियो । एपीएफका डिफेन्डर राजन गुरुङले दयानन्दलाई तानेर लडाएपछि मनाङले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । विश्व अधिकारीले प्रहार गरेको फ्रिककमा कुतेले उत्कृष्ट गोल गरे ।

सातौं पटकको कीर्तिमानी कायम गर्न चार मिनेट मात्रै बाँकि रहँदा एपीएफका रविले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेलमा थप गरिएको ५ मिनेटको पहिलो मिनेटमा उनले गोल गर्दै बराबरी गरे । यसअघि, छैटौं आहा गोल्डकप २०६४ को फाइनलमा एपीएफ नेपाल पुलिस क्लबसँग २–० गोलको हार व्यहोर्दै उपाधिबाट वञ्चित भएको थियो ।

सर्वोत्कृष्ट खेलाडी एपीएफका राजन
एपीएफका डिफेन्डर राजन गुरुङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले अप्रिला स्कुटर प्राप्त गर्नुका साथै उत्कृष्ट डिफेन्डर घोषित हुँदै नगद २५ हजार पनि प्राप्त गरे । विधागत पुरस्कारतर्फ पनि एपीएफकै वर्चस्व रह्यो ।

एपीएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक कुरियामा युया र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उत्कृष्ट फरवार्ड भने मनाङका आफिज ओलावाले घोषित भए । उनीहरूले समान २५/२५ हजार रुपैयाँ हासिल गरे ।