कांग्रेस कार्यसम्पादन समिति गठन



काठमाडौं, (नेस) ।

अघिल्लो कार्यकालमा समयमै कार्यसम्पादन समिति गठन नगरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो कार्यकालको सुरुआतमै कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टीका शीर्ष नेताहरूलाई राखेर कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिमा नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण प्रसाद सिटौलादेखि विजयकुमार गच्छदार र सुनील बहादुर थापा पनि सदस्य छन् ।

कांग्रेस विधानमा कार्यसम्पादन समितिमा सभापतिसहति सबै पदाधिकारी पदेन रहने व्यवस्था रहेको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । सो बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादनसम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

कार्यसम्पादन समितिमा डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. प्रकाशशरण महत, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी. साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्य रहेका छन् ।

कार्यसम्पादन समितिको मुख्य काम भनेको केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठक बीचमा कार्यसमितिले गर्नुपर्ने काम गर्नेछ भने कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय समितिमा पेस गरी अनुमोदनका लागि प्रतुत गर्नेछ । पार्टीको केन्द्रीय विभागको कामको समीक्षा पनि कार्यसम्पादन समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्