आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

निर्वाचन मितिबारे निर्णय लिन सक्ने सम्भावना

0
Shares

काठमाडौं, (नेस) ।

पार्टीभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दबाब बढिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण उक्त बैठक भर्चुअल बस्ने भएको देउवाको सचिवालयले बताएको छ । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले भौतिक रूपमा बैठक बस्न सम्भव नभएकाले पनि भर्चुअल बैठक बस्न लागिएको हो । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन पछि धकेल्ने सत्ता गठबन्धनको निर्णयका कारण मिति घोषणा गर्न ढिलाइ भएरहेको अवस्थामा बैठकले निर्वाचन मितिबारे निर्णय लिने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । कांग्रेसको विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १ सय ६८ सदस्यीय हुने व्यवस्था रहे पनि अहिले केन्द्रीय सदस्य १ सय ४८ मात्र रहेका छन् । बाँकी सदस्य सभापति देउवाले मनोनित गर्न बाँकी रहेको छ ।

महाधिवेशनबाट १ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिले ३३ जना मनोनीत गर्न पाउने सुविधाअन्तर्गत १३ जना केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् । मनोनयन गर्दा सभापति देउवाले पार्टीभित्र परामर्श नै नगरी निर्णय लिएको भन्दै शेखर कोइराला समूहले असन्तुष्टि जनाउँदै आएको छ ।