आफ्नो आदेशको समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालय

0
Shares

काठमाडौं, (नेस) ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको आदेशबारे आज शुक्रबार समीक्षा गर्ने भएका छन् । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक स्थानमा भीडभाड हटाउनका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आर्थिक गतिविधि सञ्चालन गर्न विभिन्न निर्देशन जारी गरेका थिए । सो आदेशको कार्यान्वयनको अवस्था, त्यसको प्रभाव र सर्वसाधारणको गुनासोलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयहरूले ती आदेशहरूको समीक्षा गर्न लागेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो– ‘ती आदेशहरूले कोरोना संक्रमण कति कम भयो ? यी सबैको लेखाजोखा गरेर एउटा निष्कर्ष निकाल्ने छौं ।’

प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसैगरी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ । जोर–बिजोर प्रणालीले सवारीसाधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मिश्रित प्रतिक्रियाहरू आएको जिकिर गर्दै भन्नुभयो– ‘कसैले यसले भीडभाड बढाएको भनेका छन् । कतिले अनावश्यक रूपमा हिँडडुल गर्ने कम भएको पनि भनेका छन् । हामी पनि अनुगमन गर्दै छौं ।’

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यक्षले पनि शुक्रबारसम्ममा अर्को आदेश जारी गरिने जानकारी दिनुभयो । यद्यपि, जोर–बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा पुगिनसकेको पनि जानकारी दिँदै उहाँले भन्नुभयो– ‘जोर–बिजोर प्रणालीबारे समीक्षा हुँदैछ । हेरौं के निष्कर्ष निस्किन्छ ।’