पूर्वकप्तान खड्काविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

0
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा जारी गरेको विज्ञप्तिमा सोको उल्लेख गरिएको हो । विज्ञप्तिमा जनाएअनुसार खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई) मा जागिर खाएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा परेको हो ।

प्रशिक्षक समेत रहेका खड्काले माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको शैक्षिक योग्यता (प्रमाणपत्र तह) को झुठो शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ । त्यही प्रमाणपत्रको आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट उनी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए । उनको २०५९ सालमा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खड्कामाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर प्रमाणित पुष्टि हुन आएको हुनाले साथै नेपाल सरकारलाई हानी–नोक्सानी पुर्याएको र आफूले समेत लाभ हुने बदनियत राखेको आधारमा आयोगले विशेष अदालतमा मुद्दा राखेको विज्ञप्तिद्वारा जानकारी गराएको छ ।