१ वर्ष बित्दा पनि सञ्चालनमा आएन भेन्टिलेटर

0
Shares

इलाम ।

विभिन्न किसिमका बिरामीका लागि आवश्यक पर्ने उपकरण इलाम अस्पतालमा जडान भएको छ । तर, अस्पतालमा उपकरण जडान मात्र भएको छ, सेवा प्रवाह भने हुन सकेको छ । यस्तै एउटा उदाहरण हो भेन्टिलेटर र डाइलोसिस मेसिनको । जडान भएको एक वर्ष बित्दा पनि इलाम अस्पतालमा अझै पनि भेन्टिलेटर र डाइलोसिस सेवा सञ्चालनमा आउन नसकेको हो ।

अस्पतालमा तीन/तीनथान भेन्टिलेटर र डाइलोसिस मेसिन जडान गरिएको छ । दक्ष जनशक्तिको अभावका कारण यी दुवै मेसिन सञ्चालनमा आउन सकेका छैनन् । अस्पताललाई लुथरन वल्र्ड वाइड रिलिफले दुईवटा भेन्टिलेटर मेसिन सहयोग गरेको थियो भने एकथान संघीय सरकारबाट बिनियोजित बजेटबाट इलाम अस्पतालले नै खरिद गरेको थियो । कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीलाई भेन्टिलेटर आवश्यक पर्दा उनीहरूलाई जिल्ला बाहिरका अस्पतालमा पठाइँदै आएको छ ।

जनशक्ति अभावमा थन्किएपछि श्वासप्रश्वासका गम्भीर बिरामीहरू बढी समस्यामा पर्दै आएका छन् । देशका विभिन्न अस्पतालमा उपकरण र जनशक्ति अभाव भइरहेको छ । तर, इलाममा ल्याइएको भेन्टिलेटर जडान भएको एकवर्ष बित्दा पनि सञ्चालनमा आउन नसक्नु इलामेहरूका लागि दुःखको कुरा हो । संघीय सरकारको करिब ४० लाख रुपियाँ खर्चेर ल्याएको भेन्टिलेटर श्वासप्रश्वासका गम्भीर बिरामीका लागि प्रयोग गरिन्छ । तर, सञ्चालन गर्ने जनशक्ति नै नहुँदा बिरामीले आफ्नै जिल्लाको सरकारी अस्पतालमा रहेको भेन्टिलेटरको सुविधा लिन सकिरहेका छैनन् ।

कोरोना संक्रमितलाई श्वासप्रश्वास समस्याले भेन्टिलेटर चाहिने अवस्था आए जिल्लाबाहिरका अस्पताल लैजानुपर्ने बाध्यता छ । इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावले थन्किएको बताउनुभयो । भेन्टिलेटर सञ्चालन गर्दा अन्य रोगका विशेषज्ञसमेत आवश्यक पर्ने भएकाले भएको सुविधासमेत प्रयोग हुन नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

भेन्टिलेटर सञ्चालन गर्नका लागि अक्सिजन प्लान्ट पनि जडान हुन आवश्यक रहनुका साथै अन्य प्राविधिक समस्याका कारण सञ्चालनमा आउन नसकेको अस्पतालका प्रशासन सहायक कमलनिधि चापागाइँले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले सम्बन्धित निकायमा अस्पतालले पटक–पटक जनशक्ति थप्न पत्राचार गरे पनि पदपूर्ति नगर्दा समस्या आएको बताउनुभयो । अस्पतालमा ९ जना विशेषज्ञसहित ५९ जनाको दरबन्दी भए पनि हाल दरबन्दीका २७ जना मात्र कार्यरत रहेका छन् । ९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा ३ जना, ४ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा २ जनामात्र कार्यरत रहेका छन् । तर, अस्पतालको विभिन्न स्रोतबाट स्थायी र करारका गरेर ९० जना कार्यरत रहेका छन् ।

मिर्गौला रोगीका लागि उपचारमा सहज हुने हेतुले इलाम अस्पतालमा एक वर्षअघि नै डाइलोसिस मेसिन जडान गरिए पनि हालसम्म यो मेसिन प्रयोगविहीन अवस्थामा छ । यो मेसिन जोडिएपछि मिर्गौला रोगी उपचारका लागि बाहिरी जिल्ला धाउनबाट मुक्त हुनेमा इलामबासी हर्षित थिए । तर, एकवर्ष बित्दा पनि यो सेवा पाउनबाट इलामबासी वञ्चित छन् । इलाम नगपालिका र रोटरी क्लब धरानको सहयोगमा ४३ लाख ७५ हजार रुपियाँको लागतमा डाइलोसिस मेसिन जडान गरिएको थियो ।

मेसिन सञ्चालनका लागि पालिकाले एक जना जनशक्तिको खर्च व्यहोर्नेछ । बाँकी जनशक्तिको व्यवस्थापन जिल्ला अस्पताल इलामले गर्ने भने पनि त्यो हालसम्म कार्यन्वयन नहुँदा यो सेवा सञ्चालनमा आउन नसकेको हो । मेसिन सञ्चालनका लागि इलाम अस्पतालका एकजना विशेषज्ञ डाक्टरसहित दुईजना स्टाफ नर्सले तालिमसमेत लिइसकेका छन् । तर, डाइलोसिस प्राविधिक नहुँदा सेवा सञ्चालनमा कठिनाइ भइरहेको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाको भनाइ छ ।

यता, डाइलोसिस मेसिन सञ्चालनमा ल्याए पनि भेन्टिलेटर मेसिन सञ्चालन नहुँदा यी दुवै सेवाबाट इलामे नागरिकहरू वञ्चित भइरहेका छन् । डाइलोसिस मेसिन सञ्चालनका लागि चाहिने सबै उपकरण भने जडान भइसकेको छ । एउटा डाइलोसिस मेसिनबाट चार घण्टामा एक जनाले सेवा लिन सक्नेछन् ।