सीमावर्ती गाउँपालिकामै छैनन् ट्राफिक

घरघरमै भारतीय नम्बरका मोटरसाइकल

0
Shares

बाँके ।

बाँकेको पूर्वी–दक्षिणमा पर्छ, नरैनापुर गाउँपालिका । साविकका ६ वटा गाविस मिलेर यो गाउँपालिका बनेको छ । यो गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । ‘बघौडा’ नामले चिनिने नरैनापुरलाई जिल्लाको पिछडिएको क्षेत्र मानिन्छ । यो गाउँपालिकामा बाटो र बिजुली पुगेको धेरै भएको छैन । डेढ दशकअघि सिधनियास्थित राप्ती नदीमा पुल बनेपछि यो क्षेत्र सदरमुकाम नेपालगञ्ज जोडिएको हो । त्यसअघि यो क्षेत्रमा पुग्न भारतीय बाटो प्रयोग गर्नुपथ्र्यो । नरैनापुर अझै शिक्षा र स्वास्थ्यमा पछाडि रहेको छ ।

नरैनापुरमा मधेसी–मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ । कोरोनाको पहिलो कालखण्डमा यो गाउँपालिका हटस्पट बनेको थियो । बाँकेमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति नै नरैनापुरका थिए । त्यति बेला नरैनापुर चर्चामा रह्यो । विकासको नजरले हेर्दा नरैनापुर अझै धेरै पछाडि रहेको छ । यो गाउँपालिकामा प्रायः मानिसले भारतीय नम्बरको मोटरसाइकल चढ्छन् । सीमावर्ती भारतीय बजारमा कारोबार हुने, सस्तोमा पाइने र आफन्तीहरू उतै भएकाले सबैजसोको घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रहेको छ ।

मोटरसाइकल चालकले हेल्मेट लगाएको पाइँदैन । हेल्मेटबिना नै चल्ने मोटरसाइकलमा तीन÷चार जना बसेका हुन्छन् । भारतीय नम्बरको मोटरसाइकल, हेल्मेट नलगाई चलाउने र अटेको जति मानिस बस्ने नरैनापुरमा ट्राफिक प्रहरीको उपस्थिति शून्य रहेको छ । जहाँ ट्राफिक प्रहरीको बढी आवश्यकता देखिन्छ, त्यही एक जना पनि ट्राफिक प्रहरी छैनन् ।

गाउँपालिकामा एक जना पनि ट्राफिक प्रहरी छैनन्भन्दा अचम्म पनि लाग्न सक्छ । नरैनापुरमा बेलाबेलामा ट्राफिक प्रहरी राख्ने प्रयास गरिन्छ, स्थानीयले विरोध गरेर भगाइदिन्छन् । निर्वाध रूपमा भारतीय नम्बरको मोटरसाइकल चलाउन पाएका स्थानीयले ट्राफिकलाई मन पराउने कुरै भएन । प्रहरीले दरिलो खुट्टा टेकेर ट्राफिकलाई राख्न सकेको छैन । ट्राफिक प्रहरी नभएकाले त्यहाँ चल्ने भारतीय नम्बरका मोटरसाइकल चोरीका हुन् कि होइनन् पत्ता लाग्न सकेको छैन । अपराध गरेर भागेमा त्यसको पहिचान हुने सम्भावना न्यून रहेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले नरैनापुर गाउँपालिकामा ट्राफिक प्रहरी व्यवस्थापन गर्न नसकेको बताउनुभयो । ‘सबैजसो भारतीय नम्बरका मोटरसाइकल हुन्छन् । प्रहरीले बेलाबेलामा जाँच गर्छ’, डीएसपी न्यौपानेले भन्नुभयो– ‘ट्राफिक प्रहरी राखेर नियमित चेकजाँच गर्न सकिएको छैन ।’

सीमावर्ती बजारमा केहीबेरका लागि यता र उताको मोटरसाइकल लैजान पाइन्छ । रात बिताउने गरी भारतीय नम्बर प्लेटको सवारीसाधन राख्दा भन्सारमा कर तिर्नुपर्छ । नरैनापुरमा चल्ने भारतीय नम्बरका मोटरसाइकल चालकले त्यसरी कानुनी प्रक्रिया पूरा गरेको पाइँदैन । प्रहरीले अलि कडाइ गर्न थालेमा केहीले रातीमा भारतमा रहेका आफन्तको घरमा राख्छन् । सदरमुकाम नेपालगञ्जभन्दा सीमावर्ती भारतीय बजारमै उनीहरूको बढी काम हुने भएकाले भारतीय नम्बरको मोटरसाइकल उनीहरूका लागि सहज मानिन्छ । नेपालतर्फ जाँच नै नभए पनि भारतमा एसएसबी र प्रहरीले नेपाली नम्बरको मोटरसाइकल लैजान कडाइ गर्ने भएकाले स्थानीय सबैले भारतीय नम्बरको मोटरसाइकल चढ्ने गर्दछन् ।