१८ सिटमा सत्ता गठबन्धन, एमाले १ सिटमा खुम्चियो

0
Shares

काठमाडौं ।

राष्ट्रियसभाको हिजो बुधबार भएको उपनिर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एक सिट जितेको छ । सातवटै प्रदेशमा भएको उपनिर्वाचनमा प्रदेश नं १ को एक सिटबाहेक पूरै सिट सत्ता गठबन्धनमा रहेका पाँच दलको पक्षमा गएको छ । सत्तागठबन्धमा रहेका दलहरू क्रमशः नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उम्मेदवारी दिएका थिए भने प्रमुख प्रतिपक्ष दल एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

राष्ट्रिय सभामा रिक्त सात महिला, तीन दलित, दुई अपांगता भएका र अल्पसंख्यक र सात अन्य गरी १९ सिटको लागि उपनिर्वाचन भएको थियो । कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गरेका थिए । आयोगका अनुसार प्रदेश १ मा एमालेबाट सोनामगेल्जेन शेर्पा (अल्पसंख्यक), नेपाली कांग्रेसबाट झापाका गोपालकुमार बस्नेत र एकीकृत समाजवादीबाट भोजपुरका जयन्ती राई (महिला) निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको थियो । शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार राईले ४ हजार ६ सय ६८ मत पाउनुभएको थियो ।

निर्वाचित हुने कांग्रेसका बस्नेत र नेकपा (एमाले) का गुरु बरालले बराबर मत ल्याएपछि गोला प्रथाबाट निर्वाचित हुनेको चयन गरिएको थियो । दुवैले ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय १६ मत प्राप्त गर्नुभएको थियो भने बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसै गरी मधेस प्रदेशमा जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकि र माओवादी केन्द्रका उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । वागमतीमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीका गोमा तिमल्सिना (महिला) निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट गोरखाका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भरत सुनार विजयी हुनुभएको छ ।

त्यसै गरी लुम्बिनीमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला) र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद (राजेश) विश्वकर्मा विजयी हुनुभएको छ । त्यस्तै, कर्णालीमा नेपाली कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङ, एकीकृत समाजवादीबाट उदय बोहोरा (खुला) र माओवादी केन्द्रका नरबहादुर विष्ट निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र (अन्य), एकीकृत समाजवादीबाट मदनकुमारी (गरिमा) शाह (महिला) र माओवादी केन्द्रबाट जगत पार्की (दलित) विजयी हुनुभएको छ ।

पाँच दलीय गठबन्धनले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा चुनाव लडेका थिए । यसले गर्दा एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाईदिएको हो । आगामी फागुन २० गते पदावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यमा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४ र कांग्रेसका ३ सांसद रहेका छन् ।
एमालेका खाली हुने आठ सिटमा गठबन्धनले चुनावी तालमेल गरेका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीले एक/एक सिट पाएको छ भने जनता समाजवादी पार्टीले दुई, कांग्रेसले तीन र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ । उपनिर्वाचनमा नौं वटा राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका थिए ।

कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै सातवटै प्रदेशको राजधानीमा तोकिएको मतदानस्थलमा हिजो बुधबार ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मतदानका क्रममा मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टी र प्रहरीबीच झडप र हेटौंडामा केहीबेर तनाव भएपनि अन्य ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेकोमा दुई हजार सात जनाले मतदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदानमा प्रदेश १ मा ३ जना, मधेस प्रदेशमा ६, लुम्बिनी प्रदेशका २ र कर्णाली प्रदेशमा २ जना गरी १८ जना जनप्रतिनिधि अनुपस्थित रहे ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । मतदान सकिएको केही बेरमै सम्बन्धित प्रदेशको राजधानीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याएर मतगणना शुरू गरिएको थियो ।

प्रदेशसभाको निर्वाचनमा हासिल गरेको जितसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा बनेको पाँच दलीय गठबन्धन आगामी वर्ष हुने संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचनमा मिलेर जाने दिशामा अघि बढेको छ ।