प्रशासनको निर्देशन नमान्दा संक्रमण जोखिम उच्च

0
Shares

पर्वत ।

पर्वत जिल्लामा निषेधाज्ञा जारी भए पनि सर्वसाधरणले भने मापदण्ड उल्लंघन गर्न थालेका कारण संक्रमण फैलने जोखिम बढेको छ । निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनको फितलो अनुगमन र सर्वसाधरणको अटेरीका कारण संक्रमण झनै फैलने खतरा बढेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ सम्मलाई निषेधाज्ञा जारी गरे पनि पर्वतमा भीडभाडसहितका विवाह, व्रतबन्ध, राजनैतिक दलका भेला तथा बैठकहरु नियमित भइरहेका छन् । कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ । शहरदेखि गाउँसम्म खुलेआम भइरहेका विवाह, मृत्यु संस्कारदेखि अन्य कार्यक्रममा ठूलो भीडभाड जम्मा भइरहेको छ । सदरमुकाम कुस्मा बजारकै नागरिकले प्रशासनको आदेशलाई लत्याउँदै वैवाहिक कार्यक्रममा सहभागी भएका छन् ।

जिल्लामा पनि संक्रमणको अवस्था बढ्दै गएका बेला सदरमुकाम कुस्मा बजारमा भने बाजागाजासहित तामझामका साथ विवाह भएका हुन् । योबाहेक शनिबार बिहान पर्वत जेसिजद्वारा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रहरीले पार्टी प्यालेसका सञ्चालकलाई नै पक्राउ गरेको थियो । पार्टी प्यालेसको कार्यक्रम रोक्न पुगेको प्रहरीले विवाहका कार्यक्रम भने रोक्न नसकेको नागरिकको गुनासो छ । शनिबार नै कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा खानेपानी समितिको निर्वाचनसमेत भयो ।

‘पार्टी प्यालेसका सञ्चालकलाई लग्यो रे भन्ने सुनेपछि अब कुस्मामा पनि टाइट भएछ । संक्रमणको जोखिम बढ्दै गएछ र त पक्राउ गरेको होला भन्ने लागेको छ’, कुस्मा नगरपालिका–५ मा बस्दै आएका हरिप्रसाद जैसी भन्नुहुन्छ– ‘तर, दिउँसोमा त ठाउँ–ठाउँमा बिहे भएको देखियो । बाजागाजा बजाउँदै भीडभाड गरेको देख्दा तिनीहरूलाई कोरोनाले नछुने रहेछ कि जस्तो लाग्यो । त्यौलीमा पनि उस्तै भीड छ ।’

उक्त आदेशविपरीत कार्य भएका कारण पार्टी प्यालेसका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । ‘नागरिकले टेर्दैनन्, कटुवाचौपारीमा नगर्नू भन्दाभन्दै निर्वाचन गरे, हामीसँग अनुमति नलिई जेसिजले कार्यक्रम आयोजना गर्यो । सबै जनाले आँखा चिम्लेको अवस्था छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो– ‘पुलिसले डन्डा लगाउँदैमा प्रशासनले कडाइ गरेरै मात्रै सम्भव होला त? नागरिकका लागि जोखिम भएकै कारण हामीले आदेश दिनुपरेको हो । अस्पताल बन्द भएको अवस्था छ, सरकारी कार्यालय र बैंक बन्द हुँदै गएका छन् । तर नागरिकले किन केही पीर नमानेका होलान् भन्ने लागिरहेको छ ।’

सबै अवस्थामा प्रहरीले पक्राउ गरेर चिट काटेर मात्रै सम्भव हुँदैन । व्यक्ति स्वयंको चेतनास्तरमा नबढेसम्म कोभिडलगायतका अन्य रोगले भयावह अवस्था निम्त्याउने पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डीबी क्षत्री बताउनुहुन्छ । ‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । भित्रभित्रै फैलिएको छ, जाँच गरिएकामध्ये ७२ प्रतिशतमा संक्रमण देखिएको छ । यसको अर्थ अब हरेक घरमा पुग्दै छ’, उहाँले भन्नुभयो– ‘नागरिकले कत्ति पनि लापरबाही गर्नै हुँदैन । चिकित्सक नै संक्रमित भएर सुतेको अवस्थामा यदि नागरिकलाई उपचार गर्न परे कसले गरिदिन्छ ?’