नदीकिनारको गाउँ पहिरोको उच्च जोखिममा

0
Shares

मुगु ।

कर्णाली नदीकिनारमा रहेको इमगाउँ पहिरोको उच्च जोखिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–३ मा अवस्थित सो गाउँको चारैतिरबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । गमगमढी बजारको ढल निकास नहुँदा गाउँ हुँदै कर्णाली नदीमा झार्ने गरिएको छ । गमगढी बजारको न्युरोडदेखि बसपार्कसम्मको ढल व्यवस्थित नहुँदा यो समस्या देखा परेको हो । गाउँको माथिल्लो भागबाट केही वर्षअघि मात्र गमगढीदेखि सोरू गाउँपालिकासम्म मोटरबाटो निर्माण गरिएको थियो । सो बाटोमा ढल नहुँदा बाटोको पानी गाउँ पस्न थालेको स्थानीय बताउँछन् ।

दैनिकरूपमा बगिरहेको गमगढी बजारको ढलको पानीले दैनिक जमिन काट्दै बगाइरहेको छ । ढलको पानीले जग्गा–जमिन बगाउन थालेपछि ६ महिना खान पुग्ने जमिनमा अहिले तीन/चार महिनालाई पनि खान नपुग्ने जमिन बाँकी रहेको स्थानीय अखंबहादुर बुढा पीडा पोख्नुहुन्छ । स्थानीय सरकार आउनुपूर्वदेखि नै विभिन्न सरोकारवाला कार्यालयमा गुहार मागे तापनि कसैले आफ्नो पीडा नसुनेको उहाँको गुनासो छ ।

स्थानीय सरकार बनेपछि आफ्नो पीडा बुझेर कुरा सुन्दिने आस गरेका ईमवासी स्थानीय सरकारले पनि पीडा नबुझेपछि अहिले तनावमा छन् । पटक–पटक लिखित, मौखिक गरी हात जोडेर ढल व्यवस्थापन गरिदिन अनुरोध गर्दा पनि समस्या नबुझेको स्थानीय नन्दबहादुर रोकायाको गुनासो छ ।

‘चुनावको बेला गाउँमा आएर विभिन्न राजनीतिक दलका नेताहरुले हाम्रो समस्या समाधान गरिदिने आश्वासन दिएर मत मागेका थिए’, सोही गाउँका अर्का स्थानीय पेमा बुढा भन्नुहुन्छ– ‘तर, चनावपश्चात् एकपटक पनि गाउँ फर्केर आएका छैनन् ।’ चुनाव जित्ने नेताले पनि ४ वर्षमा एकपटक पनि गाउँमा मुख नदेखाएको उहाँको कथन छ । गाउँका बारे सोधपुछसमेत नगरेको आरोप छ बुढाको ।

३२ घरधुरी रहेको ईम गाउँ बत्तीमुनिको अँध्यारोझैं भएको छ । शिरमा रहेको गमगढी बजारको ढल अनि भल दुवैले गाउँको अस्तित्व धरापमा परेको छ । ‘पानी परेका बेला गाउँले त्रासले सुत्न सक्दैनन्, घर बगाएर एकै चिहान बनाउने हो कि भन्ने डरले’, रतनबहादुर बुढा भन्नुहुन्छ– ‘बालबच्चालाई सुताएर रातभर जाग्ने गरेका छौं ।’

छायाँनाथ रारा नगरपालिका–३ मा पर्ने ईमा गाउँमा ५ सय मिटर माथिबाट पहिरो जाने गरेको छ । ‘उक्त गाउँवासीलाई अन्यत्रै सार्ने वा पहिरोबाट बचाउन अन्य उपाए अपनाउने भन्ने विषयमा छलफल भइरहेको छ’, छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख ललितजंग मल्ल भन्नुहुन्छ– ‘नगरपालिका स्तरबाट नभए प्रदेश वा संघबाटै भए पनि बस्ती संरक्षण गर्नुपर्छ ।’ बस्ती स्थानान्तरण या वृक्षरोपण गरी बस्ती जोगान बजेट बिनियोजन गर्न ताकेता गरिएको उहााको कथन छ । अबको केही समयमै ठोस् निर्णय आउने निमित्त प्रशासकीय प्रमुख मल्लले बताउनुभयो ।