३७ करोड बिगो दाबीसहित खड्काविरुद्ध मुद्दा

0
Shares

काठमाडौं ।

कुनै व्यवसाय नै नगरी बैंक खातामा करोडौं रुपियाँ रकम देखिएपछि नेपाल राष्ट्र बैंकले शुरू गरेको छानबिनले करोडौं अवैध विदेशी मुद्राको कारोबार भएको तथ्य फेला पारेको छ । नेपालका तीनवटा बैकमा सामान्य व्यक्तिको खातामा करोडौं करोडको कारोबार भएको देखिएपछि राष्ट्र बैंकले उक्त खाताको बारेमा छानबिन गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

सामान्य व्यक्तिको खातामा ठूलो रकम देखिएको विषयमा छानबिन शुरू गरेको राष्ट्र बैंकले सबै अध्ययनपछि फाइल राजश्व अनुसन्धान विभागमा पठाएको थियो । राष्ट्र बैंकले पठाएको अनुसन्धान फाइलपछि ती व्यक्तिको बारेमा विभागले समेत आफ्नै सुराकीमार्फत अनुसन्धानलाई अगाडि बढाएको थियो । विभागको अनुसन्धान टोलीले गरेको अध्ययनमा विद्युतीय कारोबारमार्फत करोडौंको विदेशी मुद्राको अवैध कारोबार भएको ठहर गरेको थियो ।

विभागले उनीहरूबिरुद्ध मंगलबार विदेशी मुद्राको अवैध कारोबार गरेको भन्दै ३७ करोड ६४ लाख बिगोसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । कुनै कारोबार नै नगरी बैंकमार्फत करोडौंको कारोबार गर्ने व्यक्ति थिए कैलालीका दिनेश खड्का । नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध रहेका खड्काले नेपालको वित्तीय संस्थालाई गुमराहमा राखेर विद्युतीय कारोबारमार्फत ठूलो रकमको कारोबार गर्ने गरेका थिए ।

विभागका अनुसार खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार गरेका थिए । खड्काले उनकी महिला साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेका थिए । यस्तै खड्काकी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार गरेको भेटिएको विभागले जनाएको छ । यस्तै खड्काका बुबा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको विभागले जनाएको छ ।

विभागको अनुसन्धानमा खड्काले करिब २ सय ५० जनाको नेटवर्क बनाएर विदेशबाट रकम ल्याउने र विविध प्रयोजनमा प्रयोग गर्ने गरेको खुलेको छ । उनले मोबाइल भुक्तानी प्लाटफर्म(वालेट) ई–स्क्रिल र क्रिप्टोकरेन्सी (अभौतिक/विद्युतीय मुद्रा) कारोबार प्लाटफर्म ‘बिनान्स’ मार्फत कारोबार गर्ने गरेको विभागले गरेको अनुसन्धानले देखाएको छ । क्रिप्टोकरेन्सीको कारोबार नेपालमा प्रतिबन्धित छ ।

बजारमा डलर अभाव भएपछि खड्काले राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्य लिएर डलर सटही गर्दै आएको समेत भेटिएको विभागले जनाएको छ । यसरी आएको रकमलाई व्यावस्थापन गर्न खड्काले अर्कै व्यक्तिको नामको बैंक खाता चलाउँदै आएका थिए । पछिल्लो समय देशभित्र भित्रिने रेमिटेन्स विदेशमै बिटक्वाइन, इथर्नम, लाइटक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी भइरहेको अनुमान सरकारले गरिरहेको छ । यसै क्रममा खड्काले बिनान्सको प्रयोग गरी ई–स्क्रिलबाट रकम भित्र्याएको फेला परेको हो ।

उनले क्रिप्टोकरेन्सीमा केही वर्षअघि लगानी गरेका थिए । स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सीको भाउमा उछाल आएसँगै उनले त्यसको बिक्रीबाट कुस्त आम्दानी गरेका थिए । सो रकम मोबाइल वालेट ई–स्क्रिलमार्फत नेपाल भित्र्याएका थिए । यसलाई विभागले ‘डलरको अवैध’ कारोबार मानेको हो ।