नम्बर एक बार्टीको सामना किजसँग

0
Shares

लन्डन, (एजेन्सी) ।

वोमेन्स सिंगल्सतर्फकी विश्व नम्बर एक एस्लीग बार्टी अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । अस्ट्रेलियाली खेलाडी बार्टी मंगलबार भएको क्वार्टरफाइनल खेलमा अमेरिकाकी जेसिका पेगुलालाई ६–२, ६–० ले हराएकी हुन् । बार्टीले पहिलो सेटमा ३–२ को अग्रता लिएपछि लगातार ९ गेम जितेर खेल मात्र ६४ मिनेटमा सकाइन् । उनले फाइनल पुग्न अर्की अमेरिकी खेलाडी मेडिसन किजको सामना गर्नेछिन् । किजले फ्रेन्च ओपन विजेता बार्बोरा क्रेसिकोभालाई ६–३, ६–२ ले पाखा लगाएकी हुन् ।

अन्तिम चारमा पुगेपछि बार्टीले १९७८ पछि अस्ट्रेलियाको लागि उपाधि दिलाउन सक्ने घरेलु दर्शकको अपेक्षा पनि बढेको छ । अस्ट्रेलियन ओपनमा घरेलु खेलाडीले पछिल्लोपटक सिंगल्स उपाधि जिते यता उपाधि जित्न नसकेको झण्डै ४३ वर्ष बितिसकेको छ । विम्बल्डन विजेता बार्टीले अन्तिम चारसम्म पुग्दा केवल १७ गेम ड्रप गरेकी छन् । यसैले पनि उनी जारी प्रतियोगिताको उपाधि दाबेदारीमा सबैभन्दा अघि रहेकी छन् ।

पछिल्लोपटक अस्ट्रेलियन ओपनको वोमेन्स सिंगल्स जित्ने खेलाडी क्रिस ओनिल हुन् । ओनिलले सन् १९७८ मा भएको वोमेन्स सिंगल्स फाइनलमा अमेरिकाकी बेट्सी नागेलसनलाई हराएकी थिइन् । यसपछि ४३ वटा प्रतियोगिता हुँदा सन् १९८० मा वेन्डी टमबुल फाइनल पुगेकी एक मात्र अस्ट्रेलियाली महिला खेलाडी हुन् । १९८१ देखि २०२१ सम्म कोही पनि अस्ट्रेलियाली महिला खेलाडी आफ्नै घरेलु कोर्टमा आयोजना हुने अस्ट्रेलियन ओपनको फाइनलमा पुग्न सकेका छैनन् ।

उता बार्टीको अर्की प्रतिद्वन्द्वी कीजको यस सिजनमा प्रदर्शन शानदार बनेको छ । अस्ट्रेलियन ओपनको अन्तिम चारसम्म पुग्दा उनले यस सिजनमा ११ खेल जितेकी छन् । जबकि, गत सिजन २०२१ मा यति संख्याकै उनले जित निकालेकी थिइन् । अमेरिकी ओपनमा फाइनल समेत खेलेकी उनले बार्बोरालाई हराउन १ घण्टा २७ मिनेट खर्च गरिन् ।

मेलबर्न पार्कमा निकै गर्मी हुँदा किज र बार्बोराले खेलसँगैं ३३ डिग्री सेल्सियससँग पनि प्रतिस्पर्धा गर्नुपरेको थियो । पहिलो सेटमा ५–२ ले पछि परेकी चेक खेलाडी बार्बोराले ब्लड प्रेसर र तापक्रम जँचाएकी थिइन् । उनले औषधि खाएर पुन खेलेकी थिइन् । तर, उनले किजलाई चुनौती दिन सकिनन् ।