कोरोना र लकडाउनका कुरा

0
Shares

अहिले मुलुकभर जताततै भएका नेपाली जनताको मन एउटै कुराले पिरोलिरहेको छ । बढ्दो कोरोना संक्रमणले सबैलाई चिन्तित बनाएको छ । हरेक सर्वसाधारणको प्रश्न एउटै छ– यत्रो कोरोना फैलिँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले केलाई लकडाउन नगरेको होला ? सर्वसाधारणलाई तत्कालको लागि विकास होइन, आफ्नो ज्यान जोगाउन घोषणा मात्र चाहिएको छ ।

बालबालिकादेखि बूढासम्मको लकडाउन गरेर कोरोनाबाट सरकारले बचाइदेओस् भन्ने माग छ । हरेक नेपाली नागरिकको बाँच्ने अधिकारको सुरक्षा गर सरकार भन्दै उनीहरुले माग गरिरहेका छन् । सर्वसाधारणलाई कोरोनाका कारण मृत्युको मुखमा नपुर्याइदेऊ भनेर उनीहरुद्वारा सरकार गुहारिएको छ ।

कोरोनाबाट बच्यौँ भने कर र विकासको विस्तार हुन्छ भन्ने भनाइ उनीहरुको छ । ज्यान नै बाँकी छैन भने धनसम्पत्ति, विकास किन चाहियो ? एउटा व्यक्ति मर्यो भने राज्यलाई कति घाटा लाग्छ ? यसको यकिन सरकारले गरेको छैन । सर्वप्रथम नेपाली जनता सरकारको पहिलो प्राथमिकता हो । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले चाँडै मन्त्रिपरिषद्को बैठक बोलाएर लकडाउनबारे सोच्नेछन् भनेर नेपाली जनताले आशा गरिरहेका छन् । कि त काम गर्न नसक्ने प्रधानमन्त्रीले पद त्याग गर्नुपर्यो । कोरोना लागेर नेपाली जनता अस्पतालको बेडमा छट्पटाइरहेका छन् ।

यस्तो अवस्था आइसक्दा पनि प्रधानमन्त्रीले किन कुनै निर्णय गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट भागेर, पदको दुरुपयोग गरेर, निर्णय गर्ने क्षमता नभएर, जिल्लाको सिडियोलाई जिम्मेवारी दिएर पन्छिएका छन् । एउटा कर्मचारीको काँधमा सबै जिम्मेवार सुम्पिएर यसरी भाग्न पाइन्छ ?

दिन कटानी र माना पचानीको सिडियोले के गर्न सक्लान् भन्ने सोचेर प्रधानमन्त्रीले सबै जिम्मेवारी यिनीहरुमा सुम्पिए ? सिडियोलाई घूस र तलब भत्ताबाहेक केही मतलब छैन । तर, हरेक नेपाली जनताको अभिभावक प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनीलाई नेपाली नागरिकको माया होला भन्ने अपेक्षा हामीमा छ । तर, सो अपेक्षामा खडा भएर उनले काम गर्न नसकेको प्रस्ट देखिन्छ । यदि यो सरकारले लकडाउन गरेर जनतालाई कोरोना लाग्नबाट बचाउन नसक्ने हो भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । यो सरकारले नागरिकको बाँच्ने अधिकार सुरक्षित गर्न सक्दैन भने विपक्ष के हेरेर बसेको छ ?

के शेरबहादुर देउवाको सरकार असफल भइसकेको हो ? देउवाको कारण कांग्रेस पार्टी असफल बनेको छ । प्रधानमन्त्री स्वास्थ्यमन्त्री र अर्थमन्त्रीको पछाडि लाग्दा हजारौं नागरिकको मर्नुपर्ने दिनको सिर्जना भएको छ । कांग्रेसको महामन्त्री गगन थापाले कोरोना लाग्नबाट जनता बचाउनुपर्छ भनेको कतै पनि सुन्नमा आएको छैन ।

महामन्त्री पदमा आउन लागेको चुनाव खर्च उठाउन र आगामी चुनावको खर्च जुटाउनमा दौडधूप गर्नमै उनी व्यस्त छन् । विपक्ष पार्टीका एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता बचाउन लकडाउन आवश्यक छ भनेर बोलेको कहीँ सुनिदैन । चुनाव आँउछ भारतको विरोध गर्ने, नेपालीलाई झुटो आश्वासन दिलाउने, यसबाहेक ओलीसँग क्षमता केही पनि छैन ।
दैनिक यत्रो कोरोना संक्रमित भेट्दा पनि कुनै राजनीतिक पार्टीले लकाउनबारे बोलेको कहीँ–कतै सुनिदैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधव नेपाल, नयाँ शक्तिको बाबुराम भट्टराई खोइ कहाँ छन् ? कोरोनाको तेस्रो लहर शुरु भएदेखिदेखि नै हराए, कतै भारत त छिरेनन् ?

त्यही जनताको नाम लिएर चुनाव जित्ने, खोक्रो भाषण दिएर नेपाली जनतालाई मत खसाल्न बाध्य पार्ने अनि अहिलेचाहिँ मौन बस्ने ? खोक्रो भाषणले जनता बचाउन सक्दो रहेछ ? हिजो त्यही जनताले तिरेको करबाट सेवासुविधा लिए, तलब भत्ता खाए । आज यिनीहरुकै कारण जनता मर्दा पनि यिनीहरुलाई अफसोस छैन । सीसीएमसीसीको बैठकले पनि कोरोनाको जोखिम अनुसारको निर्णय गर्न नसकेको नेपालीहरुको आरोप छ । कतै सीसीएमसीसी पनि व्यापारीपट्टि ढल्किएको त होइन भन्ने प्रश्न नेपालीको मनमा उब्जिएको छ । परिस्थिति अनुकूल निष्कर्ष निकाल्न नसक्ने सीसीएमसीसीलाई खारेज गर्नुपर्छ ।

कोरोना लागेर झन्डै १२ हजार सर्वसाधारण मरिसकेका छन् । तापनि, उनीहरु कोही होइनन् भन्दै राजनीतिक दल, सीसीएमसीसी र नेपाल सरकार आनन्दले बसिरहेको छ । यत्रो मानिस कोरोना लागेर मर्दा पनि राजाले चासो गरेनन् । मुखमा बुजो लगाएर राजा भूमिगत छिरेका छन् । कोरोनाको बारेमा बोल्ने आँट कसैसँग पनि छैन ?

यत्रो नेपाली मारेर पनि यिनीहरुको मनलाई शान्ति पुगेको छैन ? के यिनीहरुले नेपालीलाई कुखुराको चल्ला सोचेका छन् ? कोरोना बढिरहेको छ, देशका शीर्ष नेताहरु भीडभाडको हिस्सा बनिरहेका छन् । मन्त्रीदेखि लिएर राष्ट्रपति कार्यक्रमको उद्घाटन गर्दै हिँडिरहेका छन् । जनता बचाउनु कहाँ हो कहाँ, उल्टै कोरोना फैलाउन यिनीहरुलाई लाज लाग्दैन ?

आफैँ नियम बनाउने अनि आफैँले फूलमाला लगाउने ? यो त भएन नि ? सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । तर, यिनीहरु हजारौंलाई भेला गर्दै, अतिथि बन्दै, भाषण ठोक्दै हिँडेका छन् । निर्देशन दिएर घट्छ भीड, हट्छ कोरोना भन्ने सोचेको सरकारले अनुगमन गर्नुपर्दैन ? महाधिवेशन गर्ने नाममा पनि कोरोना फैलाउने काम राजनीतिक दलबाट भयो । सर्वसाधारण निराश भइसक्दा पनि कुनै नेताले सरकारले लकडाउन गर्नुपर्छ भनेर किन घचघच्याउँदैनन् ? सबैको मुखमा ताला लागेको छ ? ठूल्ठूला भाषण दिने बेला त मुख खुलेको हुन्छ ।

राजनीतिक दलहरुलाई जनताभन्दा पनि उद्योग व्यवसायी र व्यापारीहरु प्यारा छन् । व्यापारीहरुले चन्दा दिएनन् भने यिनीहरुले अफिस भाडासमेत तिर्न सक्दैनन् । बिहान–बेलुका खान पनि यिनीहरुलाई धौ–धौ छ । हामी नेपाली जनताले आफ्नो हात खियाएर भए पनि दुई छाक खान त पाएका छौं । यिनीहरुको दुई छाक आफ्नो दममा खाने हैसियतसमेत छैन । व्यापारीको इशारामा चलेका नेताहरु भएको देशमा जनताले सुखको सास फेर्न पाऊलान् भनेर नसोच्दा पनि हुन्छ । राजनीतिक दलकै लगानी व्यापारिक क्षेत्रमा छ । अनि यिनीहरुले लकडाउन गरेर जनता बचाउन दिन्छन् ?

आफ्नो लगानी डुब्छ भनेर कोरोना फैलाएर जनता मार्न पाइन्छ ? जनता बचाउने नै हो भने सरकारले तत्कालै लकडाउनको घोषणा गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कको आधा कोरोना संक्रमित उपत्यकामा मात्र भेटिन्छन् । उपत्यकाका तीन जिल्लाका मेयरहरु अझै के हेरेर बसेका छन् ? भक्तपुर, ललितपुर र काठमाडौंका मेयर खोइ कता छन् ? अस्पतालको बेडमा छट्पटिरहेको आफ्नो जिल्लावासीलाई यिनीहरुले किन देखेनन् ? हिजो यिनीहरुकै मतबाट मेयर बनेको होइन ? उपत्यकावासीलाई बचाउनको लागि साँगा र थानकोटमा पर्खाल लगाउनुपर्छ भनेर यिनीहरु किन बोल्दैनन् ?

लकडाउन आवश्यक छ भन्ने देख्दादेख्दै पनि यिनीहरु किन मौन छन् ? स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गरेको शुल्क घटाए पनि यो मिनाहा गर्न किन कसैले आवाज उठाएका छैनन् ? यिनीहरुको ढिलासुस्तीको कारण कोरोना संक्रमित हामी बनिदिनुपर्ने अनि अस्पतालको खर्च कसले तिरिदिने ? अस्पताललाई धनी बनाउनको लागि हामीलाई कोरोना संक्रमित बनाउन खोजेको छ सरकारले ? पैसा नहुनेले घरमै छट्पटाइरहनुपर्ने सरकार ? आठ सय रुपियाँ तिर्न नसक्नेले कोरोना परीक्षण गर्न नपाउने सरकार ? आफू लकडाउन पनि नगर्ने अनि अस्पतालको चार्जचाहिँ पूरै तिर्नुपर्ने ?
अनुसा थापा, भक्तपुर