राष्ट्रिय सभाको उपनिर्वाचन आज

0
Shares

काठमाडौं ।

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज बुधबार निर्वाचन हुँदै छ । कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै सातवटै प्रदेशको राजधानीमा तोकिएको मतदानस्थलमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ बाट तीन, मधेस प्रदेशबाट दुई, वागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिम प्रदेशमबाट तीनजना निर्वाचित हुनेछन् । त्यसका लागि नौ राजनीतिक दलबाट ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

उक्त सिटका लागि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले एक्लै प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनमा रहेका दलले भने आपसमा भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५÷५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । प्रदेश सभाका सदस्यहरूले मतदान गर्ने मतपत्र सेतो पानामा हरियो रंगको चिह्न र विवरण भएको छ भने निर्वाचन मण्डलका, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुखका लागि भने रातो रंगको विवरण र चिह्न भएको मतपत्र रहेको छ ।
मतदानका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी मतदान केन्द्रमा पनि छुट्टा–छुट्टै मत पेटिका र लाइनको व्यवस्था गरिएको छ । प्रदेशसभाका लागि हरियो मतपत्र प्रयोग गर्ने केन्द्र र लाइन छुट्टै हुने जानकारी दिँदै प्रवक्ता पौडेलले भन्नुभयो– ‘स्थानीय तहका मतदाताहरूको लागि रातो रंगको मतपत्र, छुट्टै मत पेटिका र लाइन हुन्छ ।’

प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्न प्राथमिकता निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मतपत्रको शुरूमा एमालेको सूर्य चिह्न रहने छ भने दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता हुनेछ । त्यस्तै, पाँचौंमा एकीकृत समाजवादी, छैठौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदुर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलको चुनाव चिह्न रहनेछ ।

आयोगका अनुसार प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र मतदान स्थल विराटनगरको बाली संरक्षण प्रयोगशाला तोकिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ । मतदाता हिजो साँझसम्म मतदानस्थल र केन्द्र तोकिएका स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।

निर्वाचनका लागि महिला, दलित, अपाङ्गता, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको छ । जुन प्रदेशमा जुन क्लस्टर पद रिक्त हुने हो, त्यही क्लस्टर र त्यही पदको लागि निर्वाचन हुने हँुदा त्यसैअनुरूप मतपत्र तयार गरिएको छ । प्रवक्ता पौडेल भन्नुहुन्छ–‘प्रदेश १ मा तीन वटा क्लस्टरका पद रिक्त हुने भएकोले तीन क्लस्टरको निर्वाचन हुन्छ र मतपत्र पनि तीन क्लस्टर र दुई–दुई वटा रफ गरी छ प्रकारका राखिने छ ।’ उहाँले मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरश्चिम प्रदेशमा पनि त्यही क्लस्टरअनुसार मतपत्र तयार गरिएको जानकारी दिनुभयो ।

चार वर्ष कार्यकाल पूरा गरेका एकजना मनोनीतसहित २० जना सांसद्को पदावधि फागुण २० गतेदेखि सकिँदैछ । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।