नालीमा परेर मर्‍यो गैंडा

0
Shares

हेटौंडा ।

संरक्षित वन्यजन्तुको सुरक्षामा ध्यान नदिँदा आइतबार चितवनमा एउटा करिब ११ वर्षको भाले गैंडा मरेको छ । नारायणघाट–हेटौंडा खण्डको पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैंडा मरेको हो । निर्माणाधीन ६ लेनको नारायणघाट–हेटौंडा सडकखण्डको गोन्द्राङमा नालीमा खसेको भाले गैंडा आइतबार दिउँसो मरेको थियो ।

सडक बनाउँदा जंगली जनावरको आवत–जावतलाई ध्यान नदिई संरचना बनाइएका कारण गैंडा नालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । वनदेवी मध्यवर्ती सामुदायिक वनक्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गस्थित गोन्द्राङमा निर्माणाधीन नालामा परेर गैंडा मरेको स्थानीय सरोज मैनालीले बताउनुभयो ।

‘भरतपुरको टिकौली जंगलमा प्रायः देखिने उक्त गैंडा ढलभित्र परेर मर्‍यो,’ उहाँले भन्नुभयो– ‘खाडल खनेर समयमै नपुर्दा संरक्षित जंगली जनावर मरेको हो । टिकौली क्षेत्रमा भने दिउँसै गैंडा हिँड्ने र चर्ने गर्छन् । करिब २:३० बजे खबर गरिए पनि दिउँसो करिब ३ बजे मरेको गैंडा उठाइएको थियो ।’ सडकमा नाला बनाउने ठेकेदारको लापरबाहीले संरक्षित जनावर मरेको उहाँको भनाइ छ ।

डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का प्राविधिक टोलीले मृत गैंडाको व्यवस्थापन गरेको थियो । जंगल क्षेत्रमा २ भाले गैंडाबीचको झगडामा आत्तिएर भाग्न खोज्दा उक्त गौंडा मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउनुहुन्छ । नजिक बरण्डाभार जंगल चितवन निकुञ्जका जनावर चुरे र महाभारत ओहोर–दोहोर गर्ने जैविक मार्ग हो । चालू आर्थिक वर्षमा सोसँगै २१ वटा गैंडा मरेकोमा १९ वटा प्राकृतिक कारणले मरेका छन् ।

गैंडा जुधेर, बूढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले हानेर पनि गैंडा मर्ने गरेको रिपोर्ट निकुञ्जले तयार गर्दै आएको छ । निकुञ्जमा चोरीशिकार झण्डै नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ ।

सीमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा वर्षेनी गैंडाको यस्ता अप्राकृतिक मृत्युदर पनि बढिरहेको संरक्षणकर्मी बताउँछन् । गैंडा होटलको सेफ्टी ट्यांकीमा खसेरसमेत मरेको पाइएको छ । पानीका घोल नहुँदा, ओहोरदोहोर गर्ने बाटो सहज नहुँदा पनि गैंडालाई समस्या हुने गरेको छ ।