संघर्षरत जितसँगै सिटसिपास क्वार्टरफाइनलमा

0
Shares

मेलबर्न, (एजेन्सी) ।

चौथो वरीयताका स्टेफानोस सिटसिपासले पाँच सेटमा संघर्ष गर्दै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलको यात्रा तय गरेका छन् । सोमबार मेलबर्न पार्कमा राति भएको खेलमा दुईपटक पछि परेर पनि सिटसिपासले जित हात पारे । सिटसिपासले अमेरिकी खेलाडी टेलर फ्रिट्जलाई ४–६, ६–४, ४–६, ६–३, ६–४ को पाँच सेटमा पाखा लगाएका हुन् । गत फ्रेन्च ओपनमा फाइनलमा पराजित भएका सिटसिपासको यो तेस्रो अस्ट्रेलियन ओपन क्वार्टरफाइनल पनि हो । उनी प्रमुख उपाधि जित्न लगातार अघि बढिरहेका छन् ।

सिटसिपासले अन्तिम आठमा इटालीका यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको खेलमा सिनरले अस्ट्रेलियाका एलेक्स डी मिनाउरलाई ७–६, ६–३, ६–४ ले हराएका हुन् । साथै उनी अस्ट्रेलियन ओपनको अन्तिम आठमा पहिलोपटक पुगेका छन् । यस्तै, प्रतियोगिताको उपाधि दाबेदारीमा रहेका डानियल मेदभेदेभले पनि अन्तिम आठको स्थान सुरक्षित गरे । रुसी खेलाडी मेदभेदेभले अमेरिकाका मेक्सिम क्रेसीलाई ६–२, ७–६, ६–७, ७–५ ले हराएका हुन् । मेदभेदेभले सेमिफाइनल पुग्न क्यानाडाका फेलिक्स अगर एलियासीमसँग खेल्नेछन् । फेलिक्सले क्रोएसियाका मारिन चिलीचलाई चौथो चरणमा २–६, ७–६, ६–२, ७–६ को चार सेटमा हराएका हुन् ।

कोर्नेट क्वार्टरफाइनलमा
दुई पटकको ग्रान्डस्लाम विजेता सिमोना हालेपलाई पन्छाएर फ्रान्सकी एलिज कोर्नेट अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेकी छन् । सोमबार मेलबर्नको गर्मीमा खेलिएको खेलमा कोर्नेटले रोमानियाकी हालेपलाई ६–४, ३–६, ६–४ ले हराएकी हुन् । कुनै पनि प्रमुख प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो उनको पहिलोपटक हो । कोर्नेटले अर्को खेलमा अमेरिकी खेलाडी डेनिल कोलिन्ससँग खेल्नेछिन् । कोलिन्सले बेल्जियमकी एलिस मर्टेन्सलाई ४–६, ६–४, ६–४ ले पराजित गरेकी हुन् ।

जितपछि ३२ वर्षीया कोर्नेटले बताइन्—पहिलोपटक क्वार्टरफाइनल पुग्दा मेरो सपना साँचो भएको छ । मलाई के भन्ने थाहा भएन, यो केवल चमत्कार हो । उता हालेप भने २०१८ मा अस्ट्रेलियन ओपनको फाइनलमा खेलेकी थिइन् । उनले एडिलेड डब्ल्यूटीए प्रतियोगिता हात पारेर अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनको यात्रा अन्तिम १६ सम्मै सीमित भयो । पहिलो सेट हारे पनि दोस्रो सेटमा उनले उत्कृष्ट पुनरागमन गरेकी थिइन् । दोस्रो सेटमा कोर्नेट ३–१ को अग्रतामा रहेर आरामसात खेल जित्न अग्रसर थिइन् । तर, हालेपले लगातार ५ गेम जितेर सेट ६–३ ले सेट हात पार्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

निर्णायक सेटमा भने कोर्नेटले छैटौं गेममा कडा संघर्ष गरी हालेपको सर्भिस तोडेर खेल ३–३ बराबरी गरेकी थिइन् । यही सर्भिस बे्रक हुनु नै हालेपको लागि दुर्भाग्य बनेको थियो । यसपछि कोर्नेटले दबाबमा उनलाई राखेर खेलमा फर्कन दिइनन् । त्यसो त हालेपले दुई म्याच प्वाइन्ट बचाए पनि कोर्नेटले तेस्रो म्याच प्वाइन्टमा जित हासिल गर्न सफल भइन् ।
वोमेन्स सिंगल्सतर्फ अर्की रोमानियाकी खेलाडी सोराना क्रिस्टिया पनि पराजित भइन् । पोल्यान्डकी आएगा स्वियाटेकले क्रिस्टियालाई ५–७, ६–३, ६–३ ले हराएकी हुन् । स्वियाटेकको यो पहिलो अस्ट्रेलियन ओपन क्वार्टरफाइनल समेत हो । उनले २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् ।