मच्छिन्द्र ८ वर्षपछि आहाको सेमिफाइनलमा

0
Shares

पोखरा ।

‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लब २०औं आहा ! गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्र आहा ! राराको अन्तिम चारमा पुगेको यो दोस्रोपटक हो । मच्छिन्द्र यसअघि २०७० सालको १२ औं संस्करणमा सेमिफाइनल प्रवेश गरेको थियो । त्योबाहेक मच्छिन्द्र कुनै पनि सहभागितामा क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको थिएन ।

मच्छिन्द्रले खेलको १३औं मिनेटमा मिडफिल्डर उत्सव राईको उत्कृष्ट गोलसँगै अग्रता लियो । थिसिङ गुरुङले क्रस गरेको बललाई डिफेन्डर अमित तामाङले नियन्त्रणमा लिँदै नीरज बस्नेतलाई दिएको पासमा अभियान प्रधानले छिड्के हान्दै अनियन्त्रित बललाई सम्हाल्दै उत्सवले उत्कृष्ट गोल गरे । यसअघि, छैटौं मिनेटमा संकटाको रोशन पहारीको प्रहारमा मछिन्द्रका गोलरक्षक सूर्य अधिकारी बाधक बने । उनले रोकेको बल रिबाउन्ड हुँदा ओधे ओलुवार्गो ग्लोरीले प्रहार गरेको बलमा समेत अधिकारी बाधक बन्दा संकटा अग्रता लिनबाट चुक्यो । खेलको आठौं मिनेटमा ग्लोरीले लक्ष्मण रुचाललाई मिलाइदिएको पासमा लक्ष्मण पुग्न नसक्दा अर्को अवसर खेर गयो । १४औं मिनेटमा लक्ष्मणकै हेडर बाहिरिन पुग्दा बराबरी गर्नबाट चुक्यो । २०औं मिनेटमा मच्छिन्द्रका फरवार्ड अभिषेक रिजालको प्रहारमा गोलरक्षक थापा बाधक बन्दा अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा उत्सवको पासमा रेजिनको प्रहारलाई उनले बचाउ गरे ।

३२औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर गर्ने सुवर्ण अवसर खेर फाल्यो । कप्तान रञ्जित धिमालको पासमा अभिषेकले अघि बढाउँदै गरेको प्रहार पोस्टबार नजिकैबाट बाहिरियो । मध्यान्तर अघि १–० गोलले अघि रहेको मच्छिन्द्रले मध्यान्तरपछि भने थप ३ गोल गर्न सफल रह्यो । खेलको ४७औं मिनेटमा मेस्सुके ओलोमोउले ३ डिफेन्डरको बीचबाट प्रहार गर्दै उत्कृष्ट गोल गरे । नाथनिल जुडे गार्कियाले डिफेन्सलाइनबाट प्रहार गरेको लामो बललाई अभिषेक रिजालले नियन्त्रणमा लिँदै मेस्सुकेलाई पास दिएका थिए ।

६१औं मिनेटमा अभिषेकले फ्लिक गरेको बललाई डिफेन्सले क्लियर गरिदिए । खेलको ६३औं मिनेटमा संकटाका परिवर्तित खेलाडी गणेश हमालले हेडरमार्फत गोल गर्दै २–१ को स्थितिमा ल्याउँदै खेलमा फर्किने लक्ष्ण देखाएका थिए । संकटाका ग्लोरीले बल अघि बढाउँदै गरेको प्रहारलाई डिफेनडरले बचाउ गर्दा कर्नर प्राप्त गरेको थियो । अमितले प्रहार गरेको कर्नरमा नीरज बस्नेतले दिएको हेडपासमा हमालले गोल गरे । ७४औं मिनेटमा संकटाका गणेश हमालको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिँदा बराबरी गर्नबाट चुक्यो ।

८४औं मिनेटमा परिवर्तित खेलाडी अभिषेक गुरुङले गोल गर्दै ३–१ को स्थिति बनाए । कप्तान रञ्जित धिमाललाई डिफेन्डर अमित तामाङले डि एरियाभन्दा बाहिर लडाएपछि मच्छिन्द्रले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । ओमोलाजा नुरेन करिमले प्रहार उक्त फ्रिकिकलाई गोलरक्षक राजाबाबुले बचाउ गर्दा फुत्किएको बलमा अभिषेकले गोल गरेका थिए । उनी रेजिनको स्थानमा मैदान प्रवेश गरेका थिए । ८६औं मिनेटमा मेस्सुकेले व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । उनले ग्लारिकाको पासमा गोल गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।