नाकामा बेचबिखनविरुद्ध काम गर्ने संस्थाको ओइरो

दाता खुसी बनाउन एक किलोमिटरको दूरीमा आठवटा संस्थाको चेकजाँच

0
Shares

बाँके ।

नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघसंस्थाको ओइरो लागेको छ । भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिब एक किलोमिटरमा आठवटा संघसंस्थाले चेकजाँच गर्ने गरेका छन् । मानव बेचबिखनको चलनचल्तीको नाका मानिने जमुनाहामा बेचबिखनविरुद्ध काम गर्ने जिल्लाका सबै संघसंस्थाले चेक प्वाइन्ट राखेका छन् ।

सबै संघसंस्थाले नाकामा उपस्थिति जनाए पनि खोजतलास तथा जोखिममा परेकाले दिने गरेको बयानमा यही नाकाबाट भारत पुगेको वा भारत हुँदै तेस्रो मुलुक पुगेको बताउने गर्दछन् । मानव बेचबिखनविरुद्धको मुद्दा संघसंस्थाका लागि बिकाउ बनेकाले नाकामा अनावश्यक प्रतिस्पर्धा देखिएको छ । बेचबिखनविरुद्ध काम गर्दा ‘डोनर’ले पत्याउने र नाकामा एउटा चेक प्वाइन्ट राखेर काम गरेकोजस्तो देखाउने गरिएको छ । नाकामा सबै संघसंस्थाको चेक प्वाइन्ट हुनु अनि यही नाकाबाट महिला तथा बालबालिका जोखिमपूर्ण यात्रामा बढी निस्किनुले संघसंस्थाले खाली डोनरलाई खुसी बनाउन नाकामा बसेकोजस्तो देखिन्छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मानव बेचबिखनविरुद्धको जिल्ला समितिले केही वर्षअघि नेपालगञ्ज नाकामा दुईवटा संघसंस्था बस्ने र अरू अन्य नाकामा जाने निर्णय गरेको थियो । त्यसको कार्यान्वयन हुन सकेन । संघसंस्था नेपालगञ्ज नाकालाई छोड्नै मानेनन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास शाखाका प्रमुख उपसचिव शोभा शाहले सबै संघसंस्था एउटै नाकामा केन्द्रित रहँदा नक्कल भएको र यात्रुले अनावश्यक सास्ती झेल्नुपरेको बताउनुभयो । ‘नाकामा जाँच हुनु राम्रो हो । तर, सबै संघसंस्थाले एकै ठाउँमा एउटै मान्छेलाई पटक–पटक सोध्दा उसलाई अनावश्यक दुःख हुन्छ’, उपसचिव शाहले भन्नुभयो– ‘नाकामा मैले समातेको भनेर फाइदा लिने होड छ ।’

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले नाकामा अनावश्यक देखिएको चेकजाँच गर्ने प्रतिस्पर्धालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । ‘जोखिमपूर्ण यात्रामा रहेकालाई रोक्न चेकजाँच गर्नुपर्छ’, डीएसपी न्यौपानेले भन्नुभयो– ‘त्यसका लागि संघसंस्थालाई व्यवस्थित गर्नुपर्छ । अन्य नाकाहरूमा पनि कडाइ गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
बाँकेमा नेपालगञ्जसँगै अन्य सातवटा छोटी नाकाहरू छन् । मानव बेचबिखनका दलालले सबै नाका प्रयोग गर्न सक्छन् । सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेको भीड हुने भएकाले त्यसको फाइदा दलालले लिने गरेको पाइन्छ । यो नाकाबाट सिन्धुपाल्चोकका महिला भारत जान हिँडेको भेटिने गर्दछ । काठमाडौंबाट नेपालगञ्ज हुँदै रुपैडियामा तरकारी किन्न जान थालेको बहाना बनाएर महिला जोखिमपूर्ण यात्रामा निस्किने गरेको कयौंलाई फर्काइएको छ । यो नाकाबाट वर्षेनी पाँच हजार महिला तथा बालबालिकालाई जोखिमपूर्ण यात्रामा रहेको आशंकामा घर फिर्ता पठाउने गरिन्छ । एक हजार आसपासमा खोजतलासको निवेदन पर्ने गर्दछ ।

डोनरलाई खुसी बनाउन एउटा घुम्ती या सटर राखेर बसेका संघसंस्थालाई व्यवस्थित गराउन जरुरी रहेको छ । कतिपय संघसंस्था त बोर्ड राखेर मात्रै बसेका छन् । १० देखि ४ बजेसम्म ड्युटी गर्ने गर्दछन् । को आए र को गएसँग उनीहरूको मतलब रहँदैन । पहाडबाट आएका सोझा महिलालाई सबैजसोले सोधेको पाइन्छ ।