घर–घरमै बिरामी, मान्दैनन् स्वास्थ्य जाँच गर्न

स्वास्थ्य निर्देशिका नमान्दा कोरोना जोखिम उच्च



सर्लाही ।

सर्लाहीमा पछिल्लो समय समुदायस्तरमै कोरोना फैलिएको छ । घरैपिच्छे जस्तो बिरामी छन् । तर पनि कामकाज तथा हिँडडुल गर्न समस्या हुने भन्दै स्वास्थ्य चेकजाँच गर्न मान्दैनन् । कोरोना संक्रमणको जोखिम उच्च रहे पनि खुला सीमाबाट हुने दोहोरो आवत–जावत र भीडभाडमा खासै कमी आउन सकेको छैन ।

माघ महिना लागेसँगै जिल्लाका ग्रामीण बस्तीमा एक्कासि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यनारायण यादवले बताउनुभयो ।

‘ग्रामीण बस्तीका धेरै बिरामीमा ज्वरो, रुघाखोकी देखिएको छ । उनीहरू टाइफाइड भयो भन्दै उपचार गर्न आउँछन्, कोरोनासँग मिल्दोजुल्दो लक्षण छ’, उहाँ भन्नुहुन्छ– ‘पीसीआर तथा एन्टिजेन परीक्षण गर्न मान्दैनन् ।’ उनीहरूलाई कोरोनासम्बन्धी जानकारी र सामान्य ज्वरोको ओषधि दिएर घर पठाउने गरेको यादव बताउनुहुन्छ । जिल्ला अस्पताल मलंगवाको ल्याबमा गरिएको पीसीआर परीक्षामा ७६ प्रतिशतभन्दा बढी बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झा बताउनुहुन्छ ।

‘समुदायस्तरमै कोभिडको नयाँ भेरियन्ट ओमिक्रनसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीका संख्या ह्वात्तै बढेका छन्’, उहाँ भन्नुहुन्छ– ‘बिरामी भएकामध्ये धेरैले पीसीआर र एन्टिजेन परीक्षण गराउन मान्दैन् ।’ सावधानी नअपनाउँदा गाउँघरमा सजिलैसँग कोरोना संक्रमण फैलिन थालेको हो । ‘यही गतिमा संक्रमण बढ्दै जाने हो भने नियन्त्रण गर्न समस्या पर्छ ।’ –झाको भनाइ छ ।

गाउँका अधिकांश बिरामीमा कोभिड–१९ कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हरिपुर नगरपालिकाका कोभिड फोकल पर्सन रामनरेश ठाकुर बताउनुहुन्छ । ‘समुदायस्तरमा अहिले उच्च ज्वरो आउने, टाउको दुख्ने, घाटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीको चाप छ’, उहाँ भन्नुहुन्छ– ‘जनचेतनाको कमीका कारण गाउँघरका धेरै नागरिकले अझै कोरोनाविरुद्धको खोप लगाएका छैनन् । कतिपयले त खोप लगाउन पनि मान्दैनन् ।’

अस्पतालमा केही दिन यता धेरै रुघाखोकी र ज्वरो आएका बिरामी उपचारका लागि आउने गरेका छन् । ‘चिसोकै कारण ज्वरो आएको हो, औषधि खाएपछि विस्तारै निको हुन्छ’, मूर्तियाकी लक्ष्मी थापा भन्नुहुन्छ– ‘अस्पतालमा गएर जचाउँदा कोरोना देखियो भने हिँडडुल गर्न गाह्रो हुन्छ, त्यसैले नजचाएकी हुँ । सामान्य औषधि खाएर घरमै बसेकी छु ।’ छोराछोरीलाई पनि ज्वरो आउँदा औषधि खाएपछि निको भएको उहाँको कथन छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी घर–घरमा भए पनि हिउँदे भेटघाट, बिहेभोज, मेला हाटबजार भने निरन्तर सञ्चालन भइरहेका छन् । स्थानीय प्रशासनले मेला, हाटबजार, भोजभतेर जमघटमा २५ जनाभन्दा बढी भेला नहुनु भने पनि त्यसको उल्लंघन भइरहेको छ । सार्वजनिक स्थानमा हिँडडुल गर्ने र सार्वजनिक सवारीसाधन यात्रा गर्दा अनिवार्य मास्क लगानुपर्ने भने पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन । कोरोनाका बिरामी बढ्दै गएपछि स्थानीय प्रशासनले सबै बिद्यालय बन्द गर्न भने पनि सामुदायिक विद्यालय मात्र बन्द भएका छन् भने संस्थागत विद्यालय र कोचिङ सेन्टर सञ्चालन भइरहेका छन् ।

मधेस प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि धेरै नागरिक कोरोना भाइरसविरुद्धको खोपको पहुँचमा पुग्न सकेका छैनन् । मधेस प्रदेश भौगोलिक रूपले सहज भए पनि लक्ष्यअनुसारको खोप पूरा गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विजय झाले स्वीकार गर्नुभयो ।

मधेस प्रदेशका ५० प्रतिशत नागरिकले मात्र कोरोनाविरुद्धको खोप लागाएका छन् । ‘मधेस प्रदेशमा ६१ लाख डोज खोप आवश्यक पर्ने भएकाले केन्द्रसँग माग गरेका छौं’, उहाँ भन्नुहुन्छ– ‘अहिले प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरको भण्डारणमा ५ लाख ३४ हजार डोज खोप छ ।’कोरोना संक्रमित हुनेको दर बढ्दै गएपछि नेपाल भारत सीमामा क्षेत्रमा प्रदेश सरकारले मधेस प्रदेशका आठ जिल्लामा ४ वटामात्र हेल्थडेक्स स्थापना गरेको छ ।

सर्लाहीमा हालसम्म १८ वर्षभन्दा माथिका ६८ प्रतिशत नागरिकले मात्र पहिलो डोज खोप लगाएका छन् भने ६२ प्रतिशतले दोस्रो डोज खोप लगाएको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो । पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशत नागरिकमा पहिलो डोज खोप लगाएका छन् । त्यसै गरी, आइतबारबाट कोरोनाविरुद्धको अतिरिक्त (बुस्टर) डोज खोप लगाउन शुरू गरिएको छ । जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रबाट यो खोप लगाउन शुरू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्