शुक्रराज शास्त्रीको सालिकमा पुष्प गुच्छा अर्पण : सहिद सप्ताहका कार्यक्रम सुरु 

२०१२ सालदेखि निरन्तर महानगरको संयोजकत्वमा सहिद सप्ताह मूल समारोह समिति 

0
Shares

काठमाडौं । 

सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राण दण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्प गुच्छा अर्पण गर्नुभएको हो । कोभिड महामारीका कारण यस बर्ष औपचारिक रूपमा सभा आयोजना गरिएन । मन्तव्य राखिएन । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको हो । यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण  सुरु गरेको हो ।

पुष्प गुच्छा अर्पणपछि सहिद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मूल समारोहका संयोजक मेयर शाक्यले, यस वर्ष सहिद सप्ताहका कार्यक्रममा केही परिवर्तन गरिएको जानकारी दिनुभयो । ‘अहिले कोभिड संक्रमणको दर बढ्ने क्रममा छ । यसकारण हामी सीमित व्यक्तिहरूको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम गर्नेछौँ ।’

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर बिर्सन मिल्दैन । त्यसैले कार्यक्रमको स्वरूप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाइ छ ।

त्यस क्रममा उपमेयर खड्गी श्रेष्ठले, व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठुलो मानेर प्राणको आहुति दिने सहिदहरूको सम्मान अन्य कुनै कारण नरोकिने प्रतिक्रिया दिनुभयो ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबिच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको विरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राण दण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यान दण्ड पाएका ४ सहिदहरूको पूर्ण कदको सालिक उहाँहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको सालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो । सहिद सप्ताहका बाँकी कार्यक्रमहरूमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरिनेछ ।

यस वर्ष प्रभात फेरी हुनेछैन । माघ १६ गते बिहान ९ बजे लैनचौरको सहिद स्मारक ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुनेछ । सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ । त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ ।