केएमसीमा तालाबन्दी

मन्त्रीको दौडधुपले काम गरेन

0
Shares

काठमाडौं, (नेस) ।

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा तालाबन्दी गरेका छन् ।

संगठनले हिजो आइतबार विज्ञप्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ । सबै मेडिकल कजेलको पठनपाठन सहज नबनेसम्‍म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न विद्यार्थीले माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफलपछि बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि सम्भव भएको छैन । शिक्षामन्त्री पौडेलले आफ्नो पदभन्दा पनि विद्यार्थीको भविष्य ठूलो भएको बताउँदै बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गरेरै छाड्ने बताउँदै आउनुभएको छ । मन्त्री पौडेलको अध्यक्षतामा करिब दुई साताअघि भएको वार्ताबाट समेत समस्या समाधान हुन सकेको छैन । मन्त्रीको दौडधुपले हालसम्म कुनै काम गर्न सकेको छैन ।

सरकारआवद्ध र प्रतिपक्ष एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै आन्दोलन जारी राखेका छन् । तर, मेडिकल कलेज सञ्चालकले विद्यार्थी आन्दोलन र सरकारको चेतावनीलाई वास्ता गरिराखेका छैनन् ।