देश र नागरिकका लागि सशस्त्र प्रहरीको योगदान अतुलनीय छ: प्रजिअ विष्ट


विमल विष्ट, डोटी  । 

डोटीको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले सीमा क्षेत्र सहित दैवी प्रकोपमा सशस्त्र प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।

सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवसका अवसरमा डोटीको दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रजिअ विष्टले देश र नागरिकका लागि सशस्त्र प्रहरीले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो स्थापना कालको छोटो समयमा सशस्त्र प्रहरीले देश र जनताका लागि निकै राम्रो काम गरेको छ, देशको सीमा बचाउन सीमा क्षेत्रमा खटिएको उक्त टिमको काम अतुलनीय छ, दैवी प्रकोपका बेला सशस्त्र प्रहरीले गर्ने कामको हामी सदा सम्मान गर्ने छौँ ।” जिल्लामा शान्ति सुरक्षादेखि कोरोना जोखिम नियन्त्रण तथा रोकथामका लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताउनु हुँदै प्रजिअ विष्टले सशस्त्रको योगदान देश र नागरिकका लागि स्मरण योग्य रहेको जिकिर गर्नुभयो ।

उता सशस्त्र प्रहरीको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले सशस्त्र प्रहरी देश र नागरिकका लागि अहोरात्र खटिँदै आएको र आवश्यक परेका बेला जुनसुकै समयमा पनि खटिने बताउनुभयो । उहाँले भन्नुभयो, “देश र नागरिकका हितका लागि हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ, हाम्रो सेवा भनेको देश र जनताको रक्षा र सुरक्षा गर्नु हो ।”उक्त कार्यक्रममा गणमा उत्कृष्ट कार्य गर्ने दुई जना सशस्त्र प्रहरी जवानलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।