सिन्धुलीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते


बुद्ध नेपाली, सिन्धुली । 

मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.१ बलट्टा फाँटमा अटो दुर्घटना हुँदा आइतबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । सिन्धुलीबाट खारखोलातर्फ आउँदै गरेको प्रदेश २-०२००१ ह १८२७ नम्बरको अटो दुर्घटनामा परी कमलामाई नगरपालिका १ बदेलेका ३२ वर्षका  विष्णु कुमार परियारको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको अटो आफै अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । दुर्घटनामा मृतककी श्रीमती सुशीला परियार,अटो चालक कमलामाई नगरपालिका वडा नं १ का भूपाल बिक र अर्का एक जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरी उपरीक्षक थपलियाले बताए । शव पोष्ट म्याटम गर्न सिन्धुली अस्पताल पठाइएको छ । प्रहरीले चालक र अटो नियन्त्रणमा लिएको छ ।