अमेरिकी टिमविरुद्ध जित्दै एपीएफ सेमिफाइनलमा

0
Shares

पोखरा ।

२०औं ‘आहा’रारा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार अमेरिकी क्लब बीएसवाईसी मिनेसोटा र एपीएफ बिच खेल चलिरहेको थियो । खेल शुरू भएपछि मध्यान्तरसम्म यस्तो लाग्थ्यो त्यो खेलमा अमेरिकी क्लबले नै जित हासिल गर्छ । कारण थियो अमेरिकी क्लबको पोस्टमा विपक्षी टोलीको कुनै पनि प्रहार नहुनु । अर्को कुरा थियो मध्यान्तरपछिको खेलमा एपीएफले पक्कै पनि रणनीति परिवर्तन गर्दै मैदानमै बल खेलाउँछ ।

विपक्षी खेलाडी निकै अग्ला भएकाले एपीएफले गोलका लागि कुनै पनि अवसर प्राप्त गर्न पाएको थिएन । लगातार आक्रमण बुनिरहेको मिनेसोटाले पनि बललाई गोलपोस्टको उचित दिशा दिन सकिरहेका थिएनन् । एपीएफका डिफेन्डर र गोलरक्षक बल बचाउनमा निकै व्यस्त देखिन्थे । गोलरहित बराबरीमै मध्यान्तर भएपछि अन्ततः मिनेसोटाले खेलको ६९औं मिनेटमा गोल गर्दै अग्रता लियो । उक्त गोलपश्चात् सबैलाई लागेको थियो अब पाहुना टोली सेमिफाइनलमा प्रवेश गर्छ ।

तर, खेल ७० मिनेटमा प्रवेश गरेपछि एकाएक परिवर्तन हुन पुग्यो । एपीएफले खेलमा फर्किने मौका पायो । मिनेसोटाका हेक्टर ट्रिगुरेवसले अर्मन्ड बेडोमलाई पेनाल्टी क्षेत्रमा लडाएपछि एपीएफले पेनाल्टीको अवसर पाएको थियो । आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । एपीएफले सोही समयमा नै पहिलो प्रहार गरेको थियो । ६८औं मिनेटमा अर्मन्डले चेस्टमार्फत बल नियन्त्रण गर्न खोज्दा अनियन्त्रित रहेको बलमा अनमार्क रहेका प्रदीप लामाले नियन्त्रणमा लिँदै गरेको प्रहारलाई गोलरक्षक तथा कप्तान दिनेश थापा मगरले बचाउ गर्दा फर्किएको थियो । उक्त बललाई अर्मन्डले हेड गर्ने प्रयास गर्दा हेक्टोरले उनलाई लडाउन पुगेका थिए । त्यसपछि भने एपीएफले पनि केही दबाबमा राखेको थियो ।

खेलको ८४औं मिनेटमा रवि थिङले गोल गर्दै एपीएफलाई पुनरागमन अग्रता दिलाए । ५८औं मिनेटमा बिक्की तामाङको स्थानमा मैदान प्रवेश गरेका रविले आवासको रनिङ पासलाई नियन्त्रणमा लिँदै पहिलो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले निर्धारित ९० मिनेटको खेलमा थप गरिएको अतिरिक्त पाँच मिनेटको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । उनले ९४औं मिनेटमा गरेको शक्तिशाली प्रहारमा गोलरक्षक मगरले रोक्ने कुनै अवसर पाएनन् ।

९३औं मिनेटमा मैदान प्रवेश गरेका युवराज खड्काले एक डिफेन्डरलाई बिट गर्दै प्रदीपलाई पास दिएका थिए । प्रदीपले उक्त बललाई ब्याक फ्लिक गर्दा आवासले प्रहार गर्न खोज्दा हेक्टरलाई लाग्दै फर्किएको बलमा रविले निकै लामो प्रहार गरेका थिए ।

एपीएपले अन्तिममा गोल गर्दै ३–१ को सानदार पुनरागमन जित निकालेपछि सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि खेलको पाँचौं मिनेटमा मिनेसोटाका देशवन पटे«सोनको प्रहार बाहिरिँदा अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा धीरज थजाली मगरको प्रहार बाहिरियो । २१औं मिनेटमा पेमा डुक्पाको प्रहार पनि बाहिरिँदा मिनेसोटाको गोल गर्ने अवसर खेर गयो । ६५औं मिनेटमा मनि लामाको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा एपीएफ गोल गर्नबाट चुक्यो ।

६६औं मिनेटमा मट्ट हुरलोले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा मिनेसोटा अग्रता लिनबाट चुक्यो । रिले ओब्रिनको हेडरलाई एपीएफका गोलरक्षक कुरियामा युयाले पन्च गर्दा क्रसबारमा लाग्दै फर्किएको बलमा मेगल प्लाफक्सले दिएको लामो पासलाई हुरलोले नियन्त्रणमा लिएको अवस्थामा वान भर्सेस वानको स्थिति बनेको थियो । उनको प्रहार निकै बाहिरिएको थियो । ९०औं मिनेटमा उनले नै गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा दोस्रो अवसर खेर गयो । एपीएफले उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–० गोलले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।