बेटिसको सानदार जित

0
Shares

मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको खेलमा रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हराएको हो । रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुईडो रोड्रिग्वेज र जोस विलियसले गोल गरे । स्पान्योलका राउल डे टोमसको शुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । राउल डे टोसमले १४औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए ।

तर, स्पान्योलको अग्रता लामो समय टिकेन । ३१औं मिनेटमा बेटिसका बोर्जा इग्लेसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औं मिनेटमा गुईडो रोड्रिग्वेजले नविल फेकिरको पासमा गोल गर्दै पहिलो हाफमा बेटिसलाई २–१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि शानदार प्रदर्शन गरेको बेटिसले ५३औं मिनेटमा तेस्रो गोल गरेको थियो । बोर्जा इग्लेसियसले सर्जिओ कानालेसको पासमा गोल गर्दै बेटिसलाई थप बलियो बनाए । त्यसपछि ७६औं मिनेटमा जोस विलियसले नविल फेकिरको पासमा गोल गर्दै बेटिसलाई सहज जित दिलाए ।

खेलको ८१औं मिनेटमा राउड डे टोमस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो । शुरुवातमै गोल गरेको स्पान्योल अन्तमा फराकिलो हार खेप्न बाध्य बन्यो । दुई गोल गरेका बेटिसका बोर्जा इग्लेसियस ‘म्यान अफ दि म्याच’ भए । जितसँगै बेटिसले २२ खेलबाट ४० अंक बनाएको छ । पराजित स्पान्योलको २७ अंक छ ।