आईपीएलमा नेपालका १५ खेलाडीको नाम दर्ता



काठमाडौं ।

यस सिजनमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मेगा अक्सनमा विदेशी खेलाडीको नाम दर्ता गर्ने क्रममा नेपालका १५ जना खेलाडीको नाम दर्ता भएको छ । भारतीय मिडियाअनुसार यसपटक १ हजार २ सय १४ जनाको नाम दर्ता गराएको हो । जसमा, ८ सय ९६ जना भारतीय खेलाडी रहेका छन् भने भारतबाहिरका खेलाडीको संख्या ३ सय १८ रहेको छ । मेगा अक्सन आगामी फेबु्रवरी १२ र १३ तारिखमा हुनेछ । तर, यसपटक कयौं दिग्गज खेलाडीले नाम फिर्ता लिएका छन् । वेस्ट इन्डिजका क्रिस गेल, इंग्ल्यान्डका साम करन, बेन स्टोक्स, जोए रुट, क्रिस वोक्स, जोफ्रा आर्चर तथा अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् ।

नेपालबाट नाम दर्ता गराउनेमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, शरद भेषवाकर, विनोद भण्डारी, अभिनास बोहरा, सुसान भारी, रोहित पौडेल, कुशल भुर्तेल, पवन शराफ, आसिफ शेख, सन्दीप जोरा र आरिफ शेख रहेको क्यानले जनायो । तर, नाम दर्ता गराए पनि आईपीएलले जारी गरेका नामसूचीमा परेमा मात्रै खेलाडीको नाम मेगा अक्सनमा जानेछ ।

आईपीएलमा अस्ट्रेलियाबाट सबैभन्दा बढी ५९ खेलाडीको नाम दर्ता गराइएको छ । यसपछि दक्षिण अफ्रिकाले ४८ जना खेलाडीको नाम दर्ता गराएको छ । तेस्रो स्थानमा वेस्ट इन्डिजका ४१ जना खेलाडी संख्या रहेको छ । यसपछि क्रमैबद्ध श्रीलंकाबाट ३६, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, अफगानिस्तानबाट २०, नेपालबाट १५, अमेरिकाबाट १४ जना खेलाडीको नाम दर्ता गराइएको छ । यस्तै, बंगलादेशका ९, नामिबियाका ५, आयरल्यान्डका ३, जिम्बावेका २ तथा भुटान, नेदरल्यान्डस्, ओमान, स्कटल्यान्ड र यूएईका १/१ जना खेलाडीको नाम दर्ता भएको छ ।

हरेक फ्रेन्चाइजी टिमले यदि, २५ खेलाडीको टिम बनाएमा अक्सनमा २ सय १७ खेलाडीलाई खरिद गरिनेछ । यसमा ७० खेलाडी विदेशी खेलाडी हुनेछन् । भारतीय मिडियाको अनुसार सबै टिमले आफ्ना खेलाडीको कोटा पूरा गर्नेछन् । यसपटक आईपीएलमा दुई टिम थपिएपछि १० टिमले प्रतिस्पर्धा गरिनेछ । मेगा अक्सनमा बेस प्राइस २ करोड भारुबाट हुनेछ । यस सूचीमा ४९ खेलाडी रहेका छन् । यो सूचीमा १७ जना भारतीय खेलाडी र ३२ जना अन्य देशका खेलाडी रहेका छन् ।

३३ खेलाडी रिटर्नमा
आईपीएल २०२२ का लागि ३३ खेलाडी रिटर्न गरिएको छ । ८ टिमले २७ खेलाडीलाई रिटर्न गर्दा नयाँ टिमले ६ खेलाडीलाई रिटर्न गरेका छन् । केएल राहुललाई नयाँ टिम लखनउले भारु १७ करोडमा किनेको हो । यो सँगैं उनी आईपीएल इतिहासमा महँगा खेलाडी बनेका छन् ।

यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीलाई २०१८ देखि २०२१ को सिजनसम्म त्यति नै रकम तिरेको थियो । लखनउले केएल राहुललाई कप्तानसमेत बनाइसकेको छ । यसअघि, राहुल पन्जाब किंग्सका कप्तान थिए । पन्जाबले उनलाई ११ करोड तिरेकोमा यसपटक उनले ६ करोड रकम बढी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्