कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

0
Shares

काठमाडौं, (नेस) ।

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण देखाउँदै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हाललाई स्थगित गरेको जनाएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कोभिड–१९ संक्रमणको जोखिम घटेर आम जनजीवन सहज भएपछि स्थगन गरिएका १६ वटा जिल्लाको अधिवेशन गरिने बताउनुभयो ।

यसअघि जिल्ला अधिवेशनका लागि पौष २७ गतेको मिति तय गरिएको थियो तर राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कारण देखाउँदै दोस्रोपटक माघ १५ का लागि सारिएको थियो ।
महाधिवेशनअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने भए पनि सत्ताधारी दल कांग्रेसभित्रको आन्तरिक विवादका कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।