अपहरणपछि बारम्बार बलात्कार

0
Shares

बाँके, (नेस) ।

नेपालगन्जमा बस्ने १६ वर्षीया किशोरी तीन जना चिनजानका साथीसँग खजुराको पुलचोकमा पुगेकी थिइन् । नेपालगन्जबाट गएका यी चार जनासँग एउटा क्यामेरा थियो । खजुरा वडा नं. २ मा पर्ने पुलचोकमा गएर फोटोसुट गर्ने उनीहरूको योजना थियो । त्यहीअनुसार उनीहरूले पुलचोकमा फोटो खिचिरहेका थिए ।

फोटो खिचिरहेका बेलामा पाँच जना युवा त्यहाँ आइपुगे । उनीहरूले फोटो खिचिरहेका किशोरीसहितका चार जनालाई कुटपिट गरे । क्यामेरा फुटाइदिए । नेपालगन्जबाट गएका तीन युवकलाई कुटपिट गरेपछि एक युवकले किशोरीलाई मोटरसाइकलमा राखेर लगे । किशोरीलाई नजिकको जंगलमा लगेर युवकले बलात्कार गर्यो ।

रात परिसकेको थियो । युवकले किशोरीलाई आफ्नै घरमा ल्यायो । घरमा ल्याएर फेरि बलात्कार गर्यो । युवकको घर खजुरा वडा नं. १ मा पर्छ । नेपालगन्जबाट किशोरीसँगै पुलचोकमा पुगेकाहरूले इलाका प्रहरी कार्यालय, धनौलीमा खबर गरे । आफूसँग रहेकी किशोरीलाई अपहरण गरेको बताए । बाँके प्रहरीमा खैलाबैला भयो । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट डीएसपी मधुसूदन न्यौपाने आफैं पुलचोक पुग्नुभयो । आसपासमा खोजी भयो । किशोरीलाई बसाएर लगेको मोटरसाइकल बाटोमा भेटियो । पेट्रोल सकिएपछि मोटरसाइकल त्यसै छोडिएको रहेछ ।

प्रहरीले मोटरसाइकल मालिक पत्ता लगायो । उसमार्फत किशोरी लैजाने युवक पत्ता लाग्यो । प्रहरीको टोली राति युवकको घरमा पुग्यो । युवक घरमै भेटिए । किशोरी त्यहाँ थिइन् । दुवैलाई लिएर प्रहरी टोली नेपालगन्ज आयो । प्रहरीले पाँच जनामध्ये किशोरीलाई फिल्मीशैलीमा लगेर बलात्कार गर्ने र कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । अरूको खोजी भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।

घटना शुक्रबार साँझ ५ बजेदेखि साढे आठ बजेसम्मको हो । प्रहरीले किशोरीलाई बलात्कार आरोपित युवकको घरमा साढे आठ बजेतिर फेला पारेको थियो । डीएसपी न्यौपानेका अनुसार, नेपालगन्जका किशोरीसँगै आविद खान, सुरज बर्मा र कृष्णसिंह ठाकुर पुलचोक पुगेका थिए । उनीहरूलाई खजुराका हरिश सुनार, सुशान्त सुनार, सुमित गाहामगर, नवीन थापा र नेप्टे भन्नेले कुटपिट गरेका थिए । किशोरीलाई हरिशले फिल्मीशैलीमा मोटरसाइकलमा राखेर पहिला जंगल र पछि आफ्नै घरमा ल्याएर बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छन् ।

बाँकेका विभिन्न ठाउँमा भाइरल सडक या राम्रो ‘सिन’ आउने बहानामा क्यामेरा बोकेका किशोरहरू किशोरी लिएर पुगेका हुन्छन् । फोटोसुट वा टिकटक बनाउने बहानामा रातिसम्म डुल्ने किशोरी जोखिममा पर्ने गर्दछन् । बाँके प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले किशोरीलाई जबरजस्ती मोटरसाइकलमा लगेर बलात्कार गरिएको बताउनुभयो । जंगलमा पुर्याएर करणी गर्न खोज्दा किशोरीले नमान्दा किशोरले उनलाई एक झापड हानेका थिए । जाजरकोट घर भई नेपालगन्जमा बस्ने किशोरी १० कक्षामा पढ्दै गरेको बुझिएको छ । प्रहरीले उनका परिवारलाई बोलाएको छ ।