२० हजार परीक्षण गर्दा १० हजार बढी संक्रमित, १६ को मृत्यु

0
Shares

काठमाडौं, (नेस) ।

पछिल्लो २४ घन्टामा कारोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने १० हजार २ सय ५४ जना संक्रमित भएका छन् । परीक्षण गरिएकामध्ये ५६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको तेस्रो संक्रमण शुरू भएपछिको सबैभन्दा बढी संक्रमण पछिल्लो २४ घन्टामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभर गरेको पीसीआर परीक्षणमा ५६ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार यो दर ४६ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ हजार २ सय १२ जना संक्रमित भेटिएका छन् भने एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

शनिबार सार्वजनिक गरिएको परीक्षण रिपोर्टमा एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा घटेर ३७ प्रतिशतमा झरेको छ । दुवै विधिबाट गरिएको परीक्षणमा भने परीक्षण गरिएकामध्ये ५६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५ हजार ३ सय ६ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा ४ सय ३४ जना संक्रमित थपिएका छन् ।

यस्तै, कास्कीमा ४ सय, मोरङमा २ सय ७३, सुनसरीमा २ सय १२, कैलालीमा १ सय ७०, चितवनमा १ सय ५३, रुपन्देहीमा १ सय ४९, बाँकेमा १ सय ४८, मकवानपुरमा १ सय ४७ र काभ्रेमा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ९८ प्रतिशत संक्रमित होम आइसोलेसनमा नै रहेका छन् । हाल देशभर सय जना कोरोना संक्रमितको सघन उपचार भइरहेको छ ।