फेरि हिमपात हुँदा जनजीवन कष्टकर

0
Shares

अर्जुन बोहरा, सिमकोट / चिरञ्जीवी मास्के, देलखा

हुम्ला, दोलखालगायतका हिमाली जिल्ला पुनः हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । योसमेत गरी यस सिजनमा सातौंपटक हिमपात भएको हो । बिहीबार बिहानैदेखि हिमपात भएको थियो ।

हुम्ला, डोल्पा, मुगु, जुम्ला, दोलखाका नागरिकको दैनिकी निकै कष्टकर बनेको स्थानीय बासिन्दा बताउँछन् । कर्णालीका बेंसीतिर पर्ने जिल्लाहरु जाजरकोट, रुकुम पश्चिम र कालीकोट र दैलेखमा पनि वर्षा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख अधिकारी गणेश आचार्यले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनाएको बताउनुभयो । उहाँका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न आग्रह गरिएको छ ।

यसअघि भएको हिमपातमाथि अझै हिउँ थपिने क्रम जारी छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्यामा पर्दै गएको हो । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको स्थानीयको भनाइ छ ।

हिमपात र वर्षाल गर्दा कठ्यांग्रिँदो चिसो बढ्दै गएको सिमकोट गाउँपालिका–६ का कैलाश रोकायाले जनाउनुभयो । बिहीबार बिहानैबाट हिमपात भएसँगै जमिन सेताम्मे भएको उहाँको कथन छ । एकातिर मानिस र पशुपक्षीलाई समस्या बनाएको छ भने हिमपात भएपछि किसान भने खुसी देखिएका छन् ।

कालिञ्चोक पनि हिमपात
दोलखाको कालिञ्चोकमा पनि बिहीबार बिहानैदेखि हिमपात भएको छ । लगातारको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको थियो । लगातारको हिमपातले चिसो बढे पनि पर्यटकहरु भने हिउँमा रमाइरहेको कालिञ्चोक केवलकारका टेक्निसियन सुशान्त ढुङ्गाना केसीले बताउनुभएको छ ।

एक हप्ताअघिको हिउँ पग्लन नपाई पुनः हिमपात भएपछि ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेका कालिञ्चोक क्षेत्रको कुरी, कालिञ्चोक टाँपु सबैतिर सेताम्य बनेको छ । हिमपातमा सधैं पर्यटक भरिभराउ हुने कालिञ्चोकमा बिहीबार भने खासै पर्यटक नदेखिएको कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझा बताउनुहुन्छ ।

कालिञ्चोकको कुरीमा झण्डै ६० वटा साना तथा ठूला होटल रहेका छन् । ‘हिमपात नै नभए पनि शुक्रबार र शनिबार कालिञ्चोको कुरीमा रहेका सबै होटल भरिभराउ हुने गरेकोमा योपटक कोरोना संक्रमण बढेका कारणले हुन सक्छ हिमपात हुँदा पनि होटल भरिएका छैनन् ।’ –होटल सुनपातिका ओझाले भन्नुभयो ।

पछिल्लो समय कालिञ्चोकमा नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो संख्यामा पर्यटक आउन थालेकोमा पुनः कोरोना संक्रमण बढ्न थालेपछि पर्यटक घटेको उहाँको भनाइ छ ।