मधेस आनदोलनले नाम र राजधानी मात्र पायो !

0
Shares

जनकपुरधाम ।

२०६३ सालमा भएको पहिलो मधेस आनदोलनलाई सफल पार्न हजारौं मधेसी जनता सक्रिय भएका थिए । मधेसमा भएको तीनवटै मधेस आन्दोलनमा दर्जनौं मधेसी जनताले सहादत प्राप्त गरे ।

कयौं घाइते भए, अशक्त भए । कयौंमाथि राजनीतिक मुद्दा लगाइयो । सोही आन्दोलनमा होमिएका कारण कयौं नागरिक अहिले पनि आन्दोलनकै कारण जेलमै छन् । आन्दोलनमा शहादत दिएका शहीद परिवारको अवस्थामा भने अहिले पनि कुनै परिवर्तन आएको छैन । शहीद परिवारको अवस्थाबारे बुझ्नका लागि अब कुनै नेताका लागि समय छैन । मधेस आन्दोलन तथा शहीदको बलिदानीको बलमा बनेको मधेस प्रदेश सरकारले आफ्नो अवस्थामा सुधार ल्याउनका लागि केही नगरेको शहीद नितु यादवकी आमाबुबाको गुनासो छ । ‘सरकारले शहीद परिवारलाई रोजगारीपत्र र घाइतेलाई आर्थिक सहायता दिए पनि मेरो परिवारले प्रदेश सरकारबाट सम्मानमा वर्षमा माला, टीका र एउटा गम्छाबाहेक केही पाएको छैन’, शहीद नितुका दाइ रप्पु यादवले भन्नुभयो– ‘मेरो भाइ गुम्यो, आमा त्यही सम्झेर रुन्छिन्, म सम्झाउँछु, कुरै बुझ्नुहुन्छ, कतिदिन त रोएरै बस्नुहुन्छ ।’

मधेस अधिकारका लागि भएको मधेस जनविद्रोहमा धनुषा लक्ष्मीनिया गाउँपालिकाका दिलीप यादवले पनि सहादत दिएका थिए । तेस्रो मधेस आन्दोलनको लक्ष्मीनियाका रामनरेशका छोरा दिलीपले मधेस जनविद्रोहको क्रममा २०७२ साल भदौ २५ गते भएको ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमअन्तर्गत भएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए । ‘म साउदीमा हुँदा एक जना साथीले मलाई फोन गरेर दिलीप कहाँ छ ? भनेर सोधे । घरमा फोन गर्दा रुवाबासी चलिरहेको थियो’, रामनरेशले भन्नुभयो– ‘गोली लागेपछि गम्भीर भएका दिलीपको तत्कालै मृत्यु भएको रहेछ, आफूलाई सम्हाल्न सकिनँ, बेहोस भएँ ।’

त्यत्कालीन सरकारले प्रत्येक शहीद परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने घोषणा गर्यो । र, दियो पनि । त्यसबाहेक शहीद परिवारको अवस्थालाई मजबुत बनाउनका लागि केही नगरिएको दिलीपको परिवारजनको गुनासो छ । पहिलो मधेस आन्दोलनको बुधबार १५ वर्ष पूरा भएको छ । स्वायत्त मधेस एक प्रदेश र अधिकार प्राप्तिका लागि आजभन्दा १५ वर्षअघि मधेसी जनता तथा मधेसवादी दलहरुले आन्दोलनको विगुल फुकेका थिए । जुन आन्दोलन १९ दिनसम्म चलेको थियो ।

मधेसमा अधिकारका लागि पटक–पटक गरी तीनपटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा गरी १ सय ३ जनाले सहादत प्राप्त गरेका थिए । यद्यपि आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गयो । तैपनि मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसका रूपमा मनाइँदै आएको छ । मधेस आन्दोलनको शुरुआत भएको दिनमा समेत मधेसवादी दलमा समेत त्यो ऊर्जा देखिएको छैन । मानौं, मधेसमा आन्दोलन नै भएको थिएन ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा चाहिँ मधेस आन्दोलनको मुद्दा जोडतोडले उठाइएको थियो । र, यसले राजनीतिक दलहरुलाई केही हदसम्म चुनाव जित्न सहयोग पनि गर्यो । त्यही परिणामस्वरूप तत्कालीन संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाल्यो । मधेस आन्दोलनबाट मधेसलाई आंशिक उपलब्धि भयो भने धेरै थोक गुमायो पनि । देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेस आन्दोलनको उल्लेखनीय भूमिका रह्यो, जो मधेस आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बताउनुहुन्छ ।

नागरिकताको विषय राष्ट्रिय मुद्दा बन्न सफल हुनुमा मधेस आन्दोलनको उपलब्धि रहेको उहाँको भनाइ छ । तर, मधेसवादी दलले बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाए पनि यसको महत्व भने भुल्दै गएको आरोपसमेत लागिरहेको राजनीतिक विश्लेषक डा. लाभको कथन छ ।‘मधेस आन्दोलनकै कारण काठमाडौंमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ भने मधेसी जनताले पनि आफूलाई मधेसी कहलाउनमा गर्व गरिरहेका छन्’, उहाँ भन्नुहुन्छ– ‘मधेसी जनताले चाहेको कतिपय मुद्दाहरु अझै पूरा हुन सकेको छैन ।’

अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी मधेसले आंशिक उपलब्धि मात्रै गरेको दाबी गर्नुहुन्छ । ‘मधेसले आठ जिल्लाको प्रदेश पाएको छ, आफ्नो राजधानी पाएको छ, तर यो आंशिक उपलब्धि मात्रै हो’, उहाँ भन्नुहुन्छ– ‘मधेसले स्वायत्तता, आत्मनिर्णयसहितको प्रदेश खोजेको थियो तर त्यो हुन सकेन, प्रशासनिक ढाँचाका रूपमा प्रदेश र राजधानी मात्रै पाएको छ ।’