गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

0
Shares

तनहुँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ ।

कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्वयनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहीँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’

नवलपुरलगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पीसीआर परीक्षण रोकिएको खबर पाएलगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरूले काम थाल्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्थ्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरूमा पठाइएको उहाँले बताउनुभयो ।

महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पतालहरू तयारी हालतमा राख्न पनि उहाँले निर्देशन दिनुभयो । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क शुरू भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री पोखरेलेको भनाइ थियो ।

भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर हेल्प डेस्क शुरू भइसकेको छ । बाहिरी मुलुक खास गरी भारतबाट गाडीमा यस प्रदेशमा आउनेको संख्या उल्लेख्य रहेकाले उनीहरूको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ । मुख्यमन्त्री पोखरेलले मंगलबार धवलागिरि अस्पताल निरीक्षण गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

पोखराका केही अस्पतालहरूले कोभिडका बिरामीको उपचारका नाममा अहिले पनि ठूलो रकम असुल गरिरहेको अनौपचारिक तबरबाट खबर आएको भन्नुहुँदै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न अनुरोधसमेत गर्नुभयो । यसका लागि जिल्ला प्रशासन कार्यालयमार्पmत् अनुगमन गरिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तेस्रो लहरको अवस्था र खोप वितरणको विवरणबारे प्रस्तुति राखेका थिए । सामाजिक, पारिवारिक अनि राजनीतिक गतिविधिका कारण महामारी फैलाउन ठूलो भूमिका खेलेको भन्नुहुँदै यसमा रोक लगाउन जरुरी रहेको उहाँहरूको भनाइ थियो । मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रजिअ रवीन्द्र आचार्यले बताउनुभयो । मनाङमा एक्सरे मेसिन बिग्रिए पनि जडान हुन नसकेकोबारे उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसै गरी लमजुङमा अक्सिजन प्लान्ट मर्मत गर्नुपर्ने, २ वटा सामुदायिक अस्पतालहरूमा औषधि र अन्य सामग्री प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने त्यहाँका प्रजिअले जानकारी गराएका छन् । स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन अभाव रहेको, नाकामा होल्डिङ सेन्टर बनाएको खण्डमा बिरामीलाई घरसम्म पुर्याउनका लागि सवारी साधनको व्यवस्था गर्नुपर्ने त्यहाँका प्रजिअ राजुप्रसाद पौडेलले बताउनुभयो ।

गोरखाका मठमन्दिरमा नित्यपूजाबाहेक सर्वसाधारणका लागि रोक लगाइएको, डेडिकेटेड बेड, एम्बुलेन्सलगायतको प्रबन्ध मिलाइएको प्रजिअ शंकरहरि आचार्यले बताउनुभयो । पर्वतमा निशेधाज्ञा जारी गरिएको, मुस्ताङ प्रवेशमा कडाइ गरिएको त्यहाँका प्रजिअहरूले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधि र उपचारको प्रबन्ध गरिहेको बताउनुभयो । यो महामारी व्यवस्थापनका लागि ३ तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै समन्वयका लागि प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेशमा थप जनशक्ति परिचालन गरी पिसिआर परीक्षणलाई तीव्र बनाइएको बताउनुभयो । अब सर्वसाधारण सबैले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक क्रियाकलाप गर्न उहाँले सर्वसाधारणसँग आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले अहिले बिरामीहरू होम आइसोलेसनमा बस्ने क्रम बढेको र उनीहरूलाई टेलिफोनमार्फत् सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले प्रदेशमा कोभिडको अवस्था र रोकथामका लागि सरकारका तर्फबाट गरिएको काम र तयारीका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा गण्डकीका पालिकाहरूका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुखसहित सहभागी थिए ।