डा. केसी विद्यार्थीलाई विदेशमै अन्तरंग अभ्यास गराउने पक्षमा

0
Shares

काठमाडौं ।

स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा.गोविन्द केसीले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्ने व्यवस्था अमान्य भएको बताउनुभएको छ । शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीनलगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप नेपालमै गर्ने व्यवस्था गर्नका लागि चिकित्सा शिक्षा आयोगलाई लेखिपठाएको थियो ।

यसलाई डा. केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरूबाट भइरहेको हस्तक्षेप भएको भन्दै चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ । डा. केसीले भन्नुभएको छ– ‘नेपालबाहिरका शिक्षण संस्थाहरूमा पढाइ शुरू गर्ने विद्यार्थीसामु इन्टर्नसिपसहित पूरा पढाइ तिनै संस्थामा सकेर फर्कनुको विकल्प छैन ।’

‘यस्तो व्यवस्था कानुनी रूपमा अवैध तथा व्यावहारिक रूपमा असम्भव भएको कुरा हामी नेपाल सरकारलगायत सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छौं’, डा केसीले भन्नुभएको छ– ‘चिकित्सा शिक्षा ऐन जारी भई एकीकृत प्रवेश परीक्षा लागू भइसकेको अवस्थामा त्यो प्रक्रिया बाहिरबाट आउने कुनै पनि विद्यार्थीले नेपालभित्र कुनै पनि चरणको पठनपाठनमा संलग्न हुने कानुनी बाटो रहँदैन ।’ त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरूलाई संलग्न हुन लगाएर योग्यताक्रमअनुसार फेरि पढाइ शुरू गर्न लगाउने डा. केसीको भनाइ छ ।

यसै विषयमा नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने कामहरू भइरहेका छन् भन्दै डा. केसीले त्यस्तो काममा विद्यार्थीहरूलाई नाम मात्रका कलेजहरूमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरूसमेत संलग्न भएको बताउनुभएको छ । ‘त्यस्तो तस्करीमा संलग्न हुनेहरू चिकित्सा शिक्षाका नियामक निकायका जिम्मेवार पदमा नियुक्त भएकाले पनि राज्यको नीति निर्माण तहसम्मै उनीहरूको पहुँच पुगेको छ’, डा. केसी भन्नुहुन्छ– ‘पहुँच र दबाब हुने हो भने जस्तोसुकै अवैध काम पनि गनै सकिन्छ भन्ने विश्वासका कारण अहिले उनीहरूले चिकित्सा शिक्षा आयोगलाई निशाना बनाइरहेका छन् ।’

डा. केसीले चीनलगायतका देशहरूमा आवश्यक शिक्षण र सिकाइबिनै डिग्री बेच्ने कलेजहरूमा विद्यार्थी पढ्न पठाउन तत्काल रोक लगाउँदै विद्यार्थी तस्करीको व्यवसाय गर्नेहरूलाई कुनै पनि नियामक निकायहरूमा नियुक्त नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।