राष्ट्रियसभा उपनिर्वाचन : कोरोना संक्रमितलाई पनि मताधिकार



काठमाडौं ।

यही माघ १२ गते बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तयार गरेको राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड–२०७८ मा सोको उल्लेख गरिएको छ । कोरोना संक्रमित मतदाताले पनि कोरोना संक्रमण नहुने गरी मतदान गर्न सकिने व्यवस्था मिलाउन लागिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो ।

सो उपनिर्वाचन १९ सदस्यका लागि हुन लागेको हो । सो निर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता छन् ।

‘कोभिड संक्रमण भएका मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी मतदान गर्न लगाउनेछौं । निजले हातमा पन्जा मास्क फेससिल्ड लगाउनुपर्नेछ’, सहायक प्रवक्ता धमलाले भन्नुभयो– ‘संक्रमित व्यक्तिले मतदान गरिरहँदा अन्यको मतदानको कार्य केही समयका लागि स्थगित हुनेछ।’ मतदानपछि निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य चालु गर्ने व्यवस्था मिलाइने धमलाको भनाइ छ ।

कोरोना महामारीको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउँदै राष्ट्रिय सभाको उपनिर्वाचन गराउन आयोगले २१ बुँदे मापदण्ड स्वीकृत गरेको आयोगले जनाएको छ । मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य रूपमा गर्र्नुपर्ने आयोगका सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो । ‘मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने गरी मापदण्ड तयार गरेका छौं’ –उहाँले भन्नुभयो ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने छ । त्यहाँ मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

आयोगका अनुसार मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुनेछ । उपनिर्वाचनका लागि सातवटै प्रदेशको राजधानीमा मतदान केन्द्र रहनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नेछ ।

मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । पूर्ण खोप लगाएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलगायत सबैले अनिवार्य रूपमा पन्जा र मास्क लगाउनुपर्नेछ ।

मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । मापदण्डअनुसार मतदान अधिकृतले समयसमयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका मतदान सामग्रीको अनिवार्य रूपमा निसंक्रमण गर्नेछ । मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसंक्रमण गर्ने र गणनाका लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्ने, मतपेटिका खोल्नुअघि अनिवार्य रूपमा निसंक्रमण गर्ने पनि मापदण्डमा भनिएको छ ।

मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने मापदण्डमा भनिएको छ । एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गरिनेछ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि मतदाताहरू पीसीआर परीक्षणका लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन पनि आयोगले आग्रह गरेको छ । आयोगका अनुसार त्यस्तो व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । सो निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्