अनलाइनमार्फत जुवा खेलाउने गिरोह नै पक्राउ

0
Shares

काठमाडौं ।

विगत केही समयदेखि राजधानीका विभिन्न स्थानमा अनलाइनमार्फत जुवा खेलाउने एउटा समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो समूहको खोजी गर्ने क्रममा प्रहरीले कीर्तिपुरको चोभार, नःगाउँ र बागभैरवस्थित विभिन्न घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

युरोप र अमेरिकाबाट सञ्चालन हुने फायर क्रिकिङ, जुवा, भेगास–एक्स, रिभर स्विप, रिभर मोनास्टरजस्ता लिंकबाट नेपाली भूमि प्रयोग गरेर जुवा खेलाउने काममा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । सामाजिक सञ्जालबाट जुवा खेल्ने जुवाडेहरू जम्मा गर्ने र विभिन्न एप्लिकेसनको माध्यमबाट जुवा खेलाउने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । विदेशी मुद्रामा खेलाइने उक्त खेलमा हारजित भएको रकमसमेत नेपालमा जम्मा नहुने र उक्त रकम विदेशमा रहेको बैंक खातामा जम्मा गरेर नेपालमा उक्त काममा संलग्न रहेकाहरूलाई तलब र कमिसन पठाउने गरेको पाइएको पनि एसपी कोइरालाले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक प्रहरीले अनलाइनमार्फत जुवा खेलाउने गिरोहलाई पक्राउ गरिएको जानकारी दिँदै एसपी कोइरालाले भन्नुभयो– ‘जुवा खेल्ने र खेलाउने पनि विदेशी नागरिक भएको फेला पारेका छौं ।’

नेपालमा सुजेन्द्र थापा, बुद्ध महर्जन र प्रदीपमानसिंह बस्नेतले सञ्चालनको जिम्मा लिएर जुवा खेलाउने कामलाई २४ सै घण्टा सञ्चालन गर्ने गरेको पाइएको पनि उहांँले जानकारी दिनुभयो । युरोप अमेरिकातिर अनलाइन जुवालाई नियन्त्रणमा ल्याएपछि यसका गिरोहले नेपाललाई सुरक्षित मुलुक मानेर उक्त काम नेपालबाट सञ्चालन गर्ने गरेको उहाँको भनाइ छ ।
जुवाका लागि खोलिएका विभिन्न एप्लिकेसनमा फेसबुक आईडीबाट जुवाडेहरूलाई सम्पर्क गर्ने र उनीहरूलाई ती लिंकको युजर नेम र पासवर्ड उपलब्ध गराउने र अनलाइनमार्फत नै जुवा खेलाउने गरिएको पक्राउ परेका नेपाली अभियुक्तहरूले प्रहरीलाई बयान दिएका छन् ।

राम्रो र आकर्षक तलब पाइने भएपछि नेपालीहरू उक्त काममा आकर्षित भएको पनि प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले कर्मचारीका रूपमा काम गर्दै आएका मनिष थापा, समीर थापा, कविता खड्का, रवीन खड्का, रोजा महर्जन, साहिल महर्जन, हनिसा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठलाई पक्राउ गरेको छ ।
नेपाली भूमि प्रयोग गरी विगत १० महिनादेखि अनलाइन जुवा खेलाएको र अमेरिकी डलर १ लाखसम्मको हारजित हुने गरी खेलाइएको समेत फेला परेको एसपी कोइरालाले जानकारी दिनुभयो ।