स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

स्वास्थ्यकर्मी अभावमा सेवा प्रभावित

0
Shares

धादिङ ।

धादिङका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाउँदा निराश भएका छन् । पहिलो चरणको कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीले अझैसम्म पनि जोखिम भत्ता नपाउँदा उनीहरू निराश भएका हुन् । सरकारले दिने घोषणा गरेर काममा खटिएका अधिकांश स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको उनीहरूको गुनासो छ ।

काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शतप्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, धादिङका प्रायः सबै स्वास्थ्यकर्मीले अझै पूर्ण रूपमा जोखिम भत्ता पाएका पाउन नसकेको बताएका छन् ।

सरकारले जोखिम भत्ता दिने भने पनि हालसम्म जोखिम भत्ता नपाएको धादिङ अस्पतालका ल्याब टेक्निसियन गोविन्द भण्डारीले बताउनुभएको छ । तेस्रो चरणको महामारी फैलिएको अवस्थामा पहिलोपटक कोरोनामा काम गरेकाहरूले सरकारले दिने भनेको सुविधा नपाएपछि आफूहरू निराश भएको र निरन्तर जोखिम भत्ता उपलब्ध गराउन माग गरिरहेको धादिङ अस्पतालका विक्रम विकले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका ७२ स्वास्थ्यकर्मी, धुनीबेंसी नगरपालिकाका ४३, ज्वालामुखी गाउँपालिकाका ४२, थाक्रे गाउँपालिकाका ५७, सिद्धलेक गाउँपालिकाका ३२, रुवीभ्याली गाउँपालिकाका ३३, गजुरी गाउँपालिकाका ४३, त्रिपुरासुन्दरी गाउँपालिकाका ५५, गंगाजमुना गाउँपालिकाका ५०, खनियाँवास गाउँपालिकाका १४, स्वास्थ्य कार्यालय धादिङका १६, धादिङ अस्पतालमा १ सय १५ जनालगायत कोरोना कहरमा काम गरेका स्वास्थ्यकर्मीले पूर्ण रूपमा कसैले जोखिम भत्ता नपाएको बताएका छन् ।

जोखिम भत्ताको नाममा एक महिनाको तलब भत्ता दिएर टारेको धादिङमा कार्यरत स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । यसैबीच, स्वास्थ्यकर्मी अभावका कारण धादिङ अस्पतालको सेवा प्रवाहमा समेत समस्या आएको छ । ओमिक्रोन भेरियन्ट भनिएको कोरोनाको तेस्रो लहरको महामारी चलेका बेला करारमा कार्यरत कर्मचारीको म्याद थप नहुँदा धादिङ अस्पतालमा नियमित सेवा सञ्चालनमा कठिनाइ आएको हो ।

कोभिड वार्ड, आइसोलेसन र आईसीयूमा काम गर्ने करारमा रहेका स्वास्थ्यकर्मीको म्याद पुसमा समाप्त भई स्वास्थ्यकर्मी निस्किएकाले समस्या भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. त्रिभुवनचन्द्र झाले बताउनुभयो । अस्पतालको समस्याबारे माथिल्लो निकायमा जानकारी गराइसकेको र यसबीचको समयमा कर्मचारी राख्न कुनै पनि बजेटको सुनिश्चितता बिरामीको संख्या बढी रहेको अवस्थामा सीमित कर्मचारीबाट काम गर्न असहज भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको भनाइ छ ।

करार समय अवधि सकेपछि पनि केही स्वास्थ्यकर्मी भने स्वतःस्फूर्त रूपमा मानवसेवामा लागिरहेका प्रति डा. झाले धन्यवाद दिँदै महामारीमा स्वयंसेवकका रूपमा सघाउन आग्रह गर्नुभएको छ । यसपछि केही स्वास्थ्यकर्मीले भने स्वयंसेवी रूपमा सहयोगसमेत गरिरहेका छन् । धादिङ जिल्ला अस्पताललगायत अहिले वागमती प्रदेशका अधिकांश अस्पतालमा स्वास्थ्यकर्मी अभावको समस्या रहेको जनाएको छ । वागमती प्रदेश सरकारअन्तर्गत रहेको अस्पताल भएकाले प्रदेश सरकारले निर्णय गर्न नसक्दा स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।