आजको मौसम : हल्का वर्षा र केही स्थानमा हिमपातको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। जसकारण देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती र प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रहने तथा तराईका भू-भागमा आंशिक बदली रहने भएको छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार भने देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।

देशका केही स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले देशभर चिसो अझै बढ्ने क्रममा रहेको जनाउँदै महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।