अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो



काठमाडौं  ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्याधिक बढेको छ । कच्चा तेल उत्पादक मुलुकहरूमा विद्रोह शुरू भएका कारण तेलको मूल्य बढेपछि यसको असर संसारभर पर्ने देखिन्छ ।

संयुक्त अरब इमिरेट्समा हुथी विद्रोहीले आक्रमण गरेपछि तेल उत्पादक देशहरूले उत्पादन कटौती गर्दा संसारभर यसको असर परेको छ ।सात वर्षयताकै उच्च विन्दुमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलर पुगेको छ । ठूला राष्ट्रहरूले तेल सञ्चितिको मात्रा बढाएपछि साना र गरिब मुलुकहरूमा तेलको अभाव तथा मूल्य वृद्धि हुने आंकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि इन्धनको मूल्य वृद्धि हुनसक्ने आंकलन गरिएको छ ।नेपाली बजारमा पेट्रोल–डिजेललगायत इन्धनको मूल्य इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यमा आधारित रहेर तय हुने गरेको छ । यस्तोमा कच्चा तेलको मूल्य वृद्धिसँगै आइओसीले निगमलाई दिने इन्धनको पनि मूल्य वृद्धि हुने भएकाले नेपालमा पनि मूल्य वृद्धिको सम्भावना बलियो देखिएको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेसँगै सरकार नयाँ मूल्य अनुसार मूल्य समायोजना गर्न बाध्य हुने देखिएको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।

जनवरी १६ मा प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ १८ पैसा, डिजेलमा आठ रुपियाँ ८१ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६४६ रुपियाँ १६ पैसा घाटा रहेको छ ।नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट ७९ करोड ९९ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमले दाबी गरेको छ ।

निगमलाई मट्टितेलमा २० रुपियाँ ५० पैसा र हवाई इन्धनमा १४ रुपियाँ ७३ पैसा नाफा रहेको छ । मट्टितेलको बिक्रीबाट निगमलाई १५ दिनमा एक करोड ८७ लाख र हवाई इन्धनबाट ११ करोड ३७ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा कुनै योगदान दिँदैन ।

प्रतिक्रिया दिनुहोस्