तुलसीपुरमा ४ वर्षलाई प्रक्षेपण गरेर राजस्व सुधार कार्य योजना तयार


तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले राजस्व सुधार कार्य योजना गरिएको छ । राजस्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्न सक्ने क्षमता र उप-महानगरपालिकाको राजस्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यलेराजश्व सुधार कार्य योजनाको नीति अघि सारिएको तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख भेषराज चन्दले जानकारी दिनुभयो ।

कार्य योजनालाई टेकेर अघि बढेमा आर्थिक वर्ष २०८१-८२ मा दुई अरब ६२ करोड,३० लाख २३ हजार बढी राजश्व संकलन गर्न सकिने प्रक्षेपण गरिएन गरिएकाले अत्यन्तै वैज्ञानिक र व्यवहारिक समेत भएको चन्दले बताउनुभयो । चालु आव२०७८-०७९ मा ६० लाख राजश्व संकलनको लक्ष्य लिएको उपमहानगरपालिकामा पुष मसान्तसम्म ११ करोड मात्र संकलन भएको छ ।सुधार कार्य योजनामा करका क्षेत्र, उपमहानगरमा राजस्व असुलीको वर्तमान अवस्था, राजश्व परिचालनका सन्दर्भमा विद्यमान नीति र संस्थागत संरचना, जनशक्ति, विगतको राजश्व (आय) परिचालन अवस्था, उप–महानगरपालिकाको राजस्वको सम्भाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारी समेत स्पष्ट हुने गरी विश्लेषण गरिएको छ ।

सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले लक्ष्य अनुसार राजश्व सङ्कलनका लागि अध्यक्ष र वडा सचिवहरूको तत्परता आवश्यक हुने बताउनुभयो । राजश्व चुहावट हुँदा विकास निर्माणका कामहरू प्रभावित हुने भन्दै लक्ष्य अनुसार अघि बढ्न निर्देशन दिनुभयो । त्यसै गरी तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले उपमहानगरपालिको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजश्व वृद्धिका लागि सबै वडाहरू जिम्मेवारी बोधका साथ लाग्नु पर्ने बताउनुभयो ।

सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विलीन केसीले कर असुली मात्रै भन्दा पनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्नुपर्ने भन्दै कर निर्धारण गर्दा व्यवसायीहरु संग पनि छलफल गर्नुपर्ने सुझाएका थिए । उनीहरूले विज्ञापन कर र सरसफाइ कर व्यवसायीसँग समन्वय नगरेर ल्याएको भन्दै यसलाई पुनर्विचार गर्न माग गरे ।

तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तयार गर्नका लागि सहयोग गर्ने साझेदारी संस्था यूएसए आइडी– संघियता सहयोग कार्यक्रमका तुलसीपुर प्रतिनिधि विश्वमणि खनालले नगर प्रमुख घनश्याम पाण्डेलाई राजस्व सुधार कार्य योजना पुस्तक हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा १९ वडाका वडा अध्यक्ष, वडा सचिव लगाएको सहभागिता रहेको थियो ।