ऐतिहासिक रानीमहल विकासमा दुई पालिकाबीच सहकार्य

0
Shares

पाल्पा ।

हालै मात्र विभिन्न पूर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकसित गरिएको ऐतिहासिक स्थल रानीमहलको थप सौन्दर्यीकरण गर्नका लागि दुई स्थानीय तह सहमत भएका छन् । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको संयुक्त बैठकले रानीघाट क्षेत्रको थप शौन्दर्यीकरण र विकासमा सहकार्य गर्ने निर्णय गरेका हुन् ।

रानीमहलको लाभ र जोखिममा संयुक्त हिस्सेदारी रहने गरी अघि बढ्ने निर्णय बैठकमा भएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । खड्ग शमशेरले आफ्नी रानीको स्मृतिमा निर्माण गरेको प्रसिद्ध दरबार रानीमहल तानसेन नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने र आँगनलगाययत अन्य संरचना बगनासकाली गाउँपालिकामा पर्ने भएकाले दुवै स्थानिय तह मिलेर रानीघाट क्षेत्रको विकास गर्ने निर्णय गरेका हुन् । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले पुरातात्विक धरोहरका रूपमा रहेको रानीघाट दरबारको थप विकास गर्न दुवै पालिका सकारात्मक भएको र आगामी दिनमा सँगसँगै अघि बढ्ने बताउनुभयो ।

नगरप्रमुख शाहीले पाल्पालाई चिनाउने रानीमहलको विकास गर्न दुई पालिका सक्षम रहेको र भविष्यमा सहकार्यमार्फत यस क्षेत्रको थप विकास गर्दै लैजाने बताउनुहुन्छ । तानसेन नगरपालिकाले केही दिन पहिले मात्र यस क्षेत्रमा थप सौन्दर्यीकरण गर्दै दरबार परिसर सरसफाइ, लाइटिङ, पानीका फोहोरा, शौचालय व्यवस्थापन, फूलबारी, खानेपानीको व्यवस्थापनलगायतका कार्य गरिसकेको छ भने दरबारलाई संग्रहालयका रूपमा परिणत गरिएको छ ।

बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले रानीघाट दरबार संरक्षण तथा संवद्र्धन गर्न गाउँपालिकाको ध्यान रहने वताउनुभयो । दुवै पालिका सयुक्तरूपमा रानीमहलको विकास र व्यवस्थापनमा लाग्दा पर्यटनको विकास हुने र आम्दानीको स्रोत पनि बढ्ने उहाँको दाबी छ ।

संयुक्त बैठकबाट रानीघाट दरबार संरक्षण तथा संवद्र्धनका लागि संयुक्त कार्यदलसमेत गठन भएको छ । जसको संयोजकमा तानसेन नगरपालिका उपप्रमुख लक्ष्मीदेवी पाठक र सहसंयोजकमा बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरे, बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराई, बगनासकाली–७ का वडाध्यक्ष गुनबहादुर बुढाथोकी, तानसेनका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेय, बगनासकालीका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, बगनासकालीका कर्मचारी कृष्णबहादुर थापा र सदस्य–सचिव तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापा रहनुभएको छ ।

दुई पालिकाले एक–आपसमा सहकार्यका साथ रानीमहल क्षेत्रको विकासका लागि अघि बढ्दा यस क्षेत्रको पर्यटकीय र ऐतिहासिक महत्व अझ बढने स्थानीयले अपेक्षा गरेका छन् ।