काठमाडौं–गोर्खा भिडन्तका हतियार प्रदर्शनीमा

0
Shares

काठमाडौं ।

हनुमानढोका दरबार संग्रहालय क्षेत्र विकास समितिले पृथ्वीनारायण शाहदेखि प्रजातन्त्र प्राप्तिसम्मका महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राख्नेभएको छ । समितिका अनुसार गद्दी बैठकको तल्लो तलामा ती सामग्री राख्ने अन्तिम तयारी पूरा भएको छ । संग्रहालयका प्रमुख सन्दीप खनालले आउँदो साता दस्तावेज सहितको प्रदर्शनी कक्ष उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । सो कक्षमा पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्दा प्रयोग गरेका हातहतियार समेत राख्ने तयारी गरेको छ ।

संग्रहालय प्रमुख खनालका अनुसार पृथ्वीनारायणका सेनाले प्रयोग गरेका ढाल, तरबार, बन्दुकसमेत प्रदर्शनीमा राखिनेछ । शाहकालदेखि प्रजातन्त्र प्राप्त गर्दासम्मका महत्वपूर्ण सन्धि, सम्झौता, सरकारका निर्णय, राजपरिवारले देशवासीका नाममा दिएको सन्देश, त्यस बेलाका राजकीय कार्यक्रम सञ्चालन गर्दा प्रयोग गरिएका कागजात प्रदर्शनीमा राख्न लागिएको सूचना अधिकारी मायादेवी अर्यालले बताउनुभएको छ । उहाँका अनुसार सरकारले इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्ष, प्रधानमन्त्री र कूटनीतिक नियोगका प्रमुखहरू भेला हुने गद्दी बैठकसमेत पर्यटकका लागि खुला हुँदैछ । सबै सामग्रीलाई पोष्टरको रूपमा तयार गर्ने, दस्ताबेजलाई विशेष सोकेसमा राख्ने र केही महत्वपूर्ण सामग्रीलाई डिजिटल फोटो खिचेर प्रदर्शनीमा राखिनेछ ।

भूकम्पपछि पूर्ण बन्द रहेको गद्दी बैठक अमेरिकी सरकारको आर्थिक सहयोगमा पुनःनिर्माण भएको थियो । ‘अब दरबार संग्रहालय अवलोकन गर्न आउनेले नयाँ कक्ष देख्न पाउनेछ । यही माघ ९ गते औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ’ –उहाँले भन्नुभयो । भूकम्पले नौतले दरबार ध्वस्त भएपछि त्यहाँ राखिएका सामग्री ढुकुटी कक्षमा राखिएको थियो । संग्रहालयमा नयाँ सामग्रीले प्रवेश पाउनेबित्तिकै दर्शकको घुइँचो लाग्ने अनुमान गरिएको छ । चीन सरकारले शुरू गरेको नौतले दरबार हालसम्म सम्पन्न हुन सकेको छैन ।

यसैबीच कोभिड–१९ संक्रमण रोकथाम गर्न र दर्शकलाई विनाअवरोध संग्रहालयमा अवलोक गर्न दिन स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने व्यवस्था गरेको छ । यही ७ गतेबाट दुई मात्रा लगाएको खोप कार्ड अनिवार्य रूपमा बोक्नुपर्ने व्यवस्था छ ।