पीसीआर परीक्षण शुल्क घट्यो

निजीमा १ हजार ५ सय, सरकारीमा ८ सय

0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । निजी अस्पताल सञ्चालकहरूको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै हिजो बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पार्नुभयो ।

यो निर्णय आगामी दुई महिनासम्म मात्र लागू गर्ने सहमति भएको थापाको भनाइ थियो । उहाँले भन्नुभयो– ‘हामीले दुई महिनापछि पुनर्विचार गर्ने गरी सहमति गरेका हौं, मन्त्रालयले सोहीअनुसार निर्णय गर्नेछ ।’

सोमबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिसँग वार्ता भएपछि समितिले मंगलबार सहमति गरेर लागू गरेको हो । पीसीआर शुल्क बढी लिएको सर्वत्र विरोध भएपछि मन्त्रालयले शुल्क घटाउन समिति गठन गरेको थियो । समितिको पहिलो बैठकबाटै शुःल्क घटाउने निर्णय गरेको हो । सरकारीमा पीसीआर गर्दा २ सय र निजीमा ५ सय रुपियाँ घटाइएको छ । मूल्य घटाएसँगै बुधबारबाट सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण शुरू गरिएको थापाको भनाइ थियो ।

यसअघि मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पीसीआर परीक्षण मूल्य घटाउने वचन दिनुभएको थियो । त्यसको भोलिपल्टै शुल्क समायोजन उपसमितिको बैठक बसी शुल्क घटाउन निर्णय गरेको थियो । ‘बुधबार पीसीआर परीक्षण गर्न आउने सबैसँग १ हजार ५ सय रुपियाँ लिएका छौं’ –अफिनका वरिष्ठ उपाध्यक्ष थापाको भनाइ थियो ।

सबै अस्पताललाई वार्ता कमिटीले गरेको निर्णयको आधारमा शुल्क लिन परिपत्र गरिसकेको र सोही अनुसार शुल्क कायम गरेको उहाँको भनाइ थियो । यसअघि सरकारीमा १ हजार रुपियाँ र निजीमा २ हजार रुपियाँ लिएर पीसीआर परीक्षण गरिन्थ्यो ।

मन्त्रालयका प्रमुख विशेष डा. लोहनीको संयोजकत्वमा गठित कोभिड–१९ को रोकथाम, नियन्त्रण उपचार र अनुगमनसम्बन्धी समितिले पीसीआर नयाँ शुल्क तोकेको हो । ‘डा लोहनीको संयोजकत्वमा गठित समितिले पीसीआर नयाँ शुल्क समायोजन गर्न थप प्रतिनिधिसमेत समेटेर अर्को उपसमिति बनाएको थियो । सोही उपसमितिको बैठकले शुल्क घटाउने निर्णय गरेको हो’ –अफिनका उपाध्यक्ष थापाको भनाइ थियो ।

मन्त्रालयले मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला, मन्त्रालयका डा. मदन उपाध्याय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, निजी प्रयोगशालाका गोविन्द अकेला र अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापा रहेको उपसमिति बनाएको थियो ।

सरकारले पीसीआर परीक्षणको शुल्क समायोजन गरेपछि कोभिडको लक्षण देखिएकाहरूको निःशुल्क परीक्षणको व्यवस्था गरेको थियो । विदेश जाने र अत्यावश्यक काम भएको अवस्थामा पीसीआर परीक्षण गर्न सरकारी अस्पतालले समेत शुल्क लिन थालेको थियो ।

पछिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागिरहेको र बढी शुल्क लिएका कारण घरमै बस्ने गरेपछि संक्रमितको दर ह्वात्तै बढेको थियो । त्यहीकारण सबैलाई परीक्षण गर्न बाध्य बनाउन शुल्क समायोजन गरिएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

जताततै भीड
सरकारले भोलि शुक्रबारबाट सार्वजनिक सेवा लिन अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने निर्णय गरेपछि खोप केन्द्रमा खोप लगाउनेको भीड बढेको छ । देशभरका खोप केन्द्रकमा खोप लगाउनेको भीड बढेपछि त्यहीँबाट कोरोना संक्रमण सम्भावना देखिएको छ ।

उपत्यकाका खोप केन्द्र कायम गरिएका सबै अस्पताल, स्थानीय तहले कायम गरेको खोप केन्द्रलगायत सबै क्षेत्रमा भीडभाड देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत जिल्लास्थित स्वास्थ्य कार्यालयले सबै क्षेत्रमा खोपको सुलभ व्यवस्था भइरहेको दाबी गरेको थियो ।

तर, खोप केन्द्र अनुमन गर्दा जताततै भीड देखिएको छ । मन्त्रालयले अस्तिदेखि अग्रपंक्तिमा खटिने क्षेत्रका व्यक्तिलाई खोप लगाउन शुरू गरेको थियो । सोही आधारमा अग्रपंक्तिका व्यक्तिहरूको खोप केन्द्रमै भीड भएको छ ।खोप केन्द्रमा मात्रै होइन सार्वजनिक सेवा लिने क्षेत्रमा पनि भाीडभाड देखिएको छ । राहदानी लिन, विदेश जान र श्रम स्वीकृति लिने, सवारी कर तिर्ने, स्थानीय तहको सेवा लिनेलगायत सबै क्षेत्रमा भीड देखिएको छ । कोरोना संक्रमण उच्चविन्दुमा पुगेको अवस्थामा जताततै भीडभाड देखिएको छ ।

दैनिक उकालो लाग्दै कोरोना संक्रमण
कोरोना संक्रमणको अवस्था हेर्दा दैनिक उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या झन्डै ५४ प्रतिशतले बढेको छ । डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४ सय ८३ जनामा पुष्टि भएको थियो । त्यस बेला संक्रमण दर ४४ प्रतिशत ४९ थियो । यही पुस २५ मा परीक्षण गरिएको नमुनामध्ये ९ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले नियमित ब्रिफिङको क्रममा तथ्यांक सार्वजनिक गर्नुभएको हो । १८ हजार ७८ नमुनाको पीसीआर र ५ हजार ३ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार उपत्यकामा ६ हजार ३ सय ४३ संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ६ सय ६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५ सय ७८ जना रहेका छन् । २४ घण्टामा ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । मन्त्रालयको तथ्यांकअनुसार मंगलबार एक जनाको मात्र मृत्यु भएको थियो । बुधबार ४ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ पुगेको छ । मन्त्रालयले यो महिनाको दोस्रो सातादेखि दैनिक २० हजारसम्म संक्रमित थपिने प्रक्षेपण गरेको छ ।