कोभिड नियन्त्रण गर्न सरकारी अनुगमन


मोतीराम तिमल्सिना,काभ्रे  । 

कोभिडको संक्रमण बढ्दै गए पछि जिल्लामा संक्रमण फैलन नदिन बुधबार बिहान सरकारी अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा अरनिको राजमार्गको बनेपा चार दोबाटो चोक, सार्वजनिक यातायात तथा अन्य क्षेत्रको अनुगमन गरिएको थियो ।

‘सार्वजनिक बसमा सिट क्षमता भन्दा धेरै यात्रु नबोक्न र यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न भनेका छौँ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सर्वसाधारणलाई पनि नियमित मास्क प्रयोग गर्न अनुरोध गरेका छौँ ।

मास्क नहुनेलाई उपलब्ध पनि गराएका छौँ ।’ सरकारी टोलीले सार्वजनिक यातायातका साथै होटल तथा पसल र सडकमा हिँड्ने पैदलयात्रीहरुलाई कोभिडबाट बच्न अनुरोध गर्दै मास्क वितरण गरेको थियो । सरकारले जारी गरेको ३६ बुँदेलाई अक्षर पालना गराउन टोलीले अनुगमन सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाई, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोईराला लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईका अनुसार दैनिक कोरोना भाइरसका कारण संक्रमित हुने क्रम बढिरहेको छ ।

परीक्षणका लागि स्थानीय तहमा एन्टिजेन किट र पिसिआरका लागि भिटिएम पठाई सकिएको छ । ‘पहिले एन्टिजेन परिक्षण गरिन्छ । लक्षण भएर पनि नेगेटिभ देखिएकाहरूलाई पिसिआर गरिन्छ’– वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईले भन्नुभयो– ‘संक्रमण हुनै नदिन खोप अभियानलाई पूर्ण बनाउँदै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउन अनुरोध गरेका छौँ ।’ तर पनौतीमा सुरु भएको मकर मेलाले सरकारी निर्णयको धज्जी उडाईरहेको छ ।

प्रमुख सेढाईका अनुसार १३ वटै पालिकामा २६ जना सिआईसिटी टिमका सदस्यहरूलाई तालिम प्रदान गरिसकिएको छ । यो पटक अभिलेख तथा सूचना प्रणालीलाई व्यवस्थित बनाइएको छ । कोभिड संक्रमित व्यक्तिको पूर्ण विवरण लिई उसलाई आवश्यक पर्ने अस्पताल र उपचार सेवाका बारेमा सोही टिमले सूचनाको अभिलेखीकरण गर्नेछ ।

कोभिड नियन्त्रणका लागि अरनिको राजमार्गको सिमाना भुम्लु गाउँपालिकाको दोलालघाट, बिपी राजमार्गको रोशी स्थित मंगलटार, बनेपाको साँगामा हेल्प डेस्क राखिएको डा. सेढाईले बताउनु भयो । स्थानीय तहलाई भईरहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन, अक्सिजन, अक्सिजन कन्सन्टेटर लगायतका सामाग्रीहरू र जनशक्तिलाई तयारी रहन निर्देशन दिइएको छ । कोभिडबाट मंगलबार एक जनाको निधन भएको छ ।