काठमाडौंका मेयरले दिए सीसीएमसीलाई चेतावनी

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईंका लागि कोरोनाको संकट व्यवस्थापन केन्द्र सीसीएसीलाई स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्न चेतावनी दिनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सीसीएमसीसँग पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गरिए पनि यसपटक त्यसो नगरिएकोमा आपत्ति जनाउनुभयो ।

नगरपालिका फोरमका अध्यक्षसमेत रहेका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौं कोरोनाको केन्द्र बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’शाक्यले यसबारे गृहमन्त्रीलाई समेत स्मरण गराइसक्नुभएको छ । शाक्यका अनुसार संघीय सरकारले स्थानीय सरकारलाई उपेक्षा गरेको हो कि भन्ने आशंका छ । ‘स्थानीय सरकार भनेको संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने हो । त्यस कारणले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढे मात्र कोरोना नियन्त्रणका लागि प्रभावकारी काम हुनेछ’ उहाँले भन्नुभयो ।

उहाँले महानगरपालिकाले यसभन्दा अघि निःशुल्क आइसोलेसन र क्वारेन्टीनहरु सञ्चालन गरेको र अहिले पनि आवश्यक परेमा तयारी अवस्थामा रहेको बताउनुभयो । ‘गृहमन्त्रीज्यू, विभिन्न अस्पताल र नेपाली सेनासँग हामीले छलफल गरेका छौँ, सेना र अस्पतालहरुलाई समेत तयारी अवस्थामा रहन भनेका छौं, हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक परेमा तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टीनहरू सञ्चालन गर्नेछौं’ उहाँले बताउनुभयो ।

‘काठमाडौंमा बाक्लो वस्ती भएको कारण स्थानीय वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित भएका छन् । छिटै संक्रमण फैलिनसक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गदर्छु’ उहाँको अनुरोध थियो ।

शाक्यले प्रदेश, स्थानीय र केन्द्र सरकारले बारम्बार सतर्क रहन अपिल गर्दा पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै हेलचक्राइँ गरेको बताउनुभयो । हाल कोरोना संक्रमण दर दिनानुदिन बढिरहेको अवस्थामा स्थानीय सरकारलाई सहयोग गरेर एकीकृत ढंगले अघिबढ्न आवश्यक रहेको सुझाव उहाँको थियो । जति बढी लापरवाही भयो त्यति नै बढी मानवीय क्षति हुने विगतका अनुभवले पनि देखाएको उहाँले स्मरण गराउनुभयो ।

‘विश्व स्वस्थ्य संगठनको मान्यताअनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जारी गरेका मापदण्ड पालना गर्दै सचेत र सतर्क रहन पनि म अपिल गर्छु,’ शाक्यले भन्नुभयो– ‘सावधानी अपनायौं भने मानवीय क्षति कम गर्न र आफू पनि बच्न सक्नेछौं । शाक्यले संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपक्तिमा खटिएका व्यक्ति, जेष्ठ नागरिक लगायतका लागि खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन अपिल गर्नुभयो ।