हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न हिमानी शाह अमेरिकामा

0
Shares

वासिंगटन डिसी ।

अमेरिकामा रहेका नेपालीले खोलेको हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह बुधबार वासिंगटन डिसी पुग्नुभएको छ । ‘नेपालमा लोककल्याणकारी संस्थाका रुपमा नाम कमाइसकेको हिमानी ट्रस्ट नामक संस्थाको अमेरिकास्थित च्याप्टरको समुद्घाटनका लागि हिमानी ट्रस्टका संरक्षकस्वयं हिमानीराज्यलक्ष्मीदेवी शाह अमेरिका आउनुभएको छ’ मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

पूर्व युवराज्ञी शाहलाई स्वागत गर्न क्यालिफोर्नियाबाट डिसी पुगेका पाण्डे, चीन थापा, नारायण सोमनामे र रविसिंह बस्नेतका अनुसार ट्रस्टको अमेरिका च्याप्टरको उद्घाटन समारोहमा सरिक हुन विभिन्न स्टेटबाट स्थानीय च्याप्टरका एम्बेसेडरहरु भेला हुनेक्रम जारी छ ।

संरक्षक शाहले लिजबर्णमा १९ जनबरीका दिन स्थानीय समयअनुसार बिहान ११ बजे एक समारोहका बीच हिमानी ट्रस्ट युएसको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । सम्पन्न हुनलागिरहेको समुद्घाटन समारोहका विषयमा जानकारी गराउन हिमानी ट्रस्ट युएसका अध्यक्ष हरि शर्माको अध्यक्षतामा सोमबार पूर्वतयारी कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न स्टेटमा हिमानी ट्रस्ट युएसको शाखाका अध्यक्ष एवं संयोजक, जसलाई एम्बेसेडर नाम दिइएको छ, उहाँहरुको उपस्थितिमा अन्तरक्रियात्मक ढंगले पूर्वतयारी कार्यक्रम सञ्चालन भएको थियो ।

हिमानी ट्रस्ट युएसका अध्यक्ष शर्माले पूर्वतयारी कार्यक्रमलाई सम्बोधन गर्दै परिस्थितिले अमेरिका आउनुपरे पनि नेपालको समुन्नतिप्रति नै ध्यान जाने भएकाले मानवीय सहयोगका लागि ट्रस्टलाई व्यापक र सबल बनाउन हामी सक्रिय रुपमा लाग्नेछौं भन्नुभयो । ‘को बाल, को वयोवृद्ध, को महिला, को पुरुष– सबै विपन्न, असहाय तथा सहयोगका लागि उपयुक्त पात्रलाई तन, मन र धनले सहयोग गर्ने उद्देश्यले हामी यस ट्रस्टलाई स्थापित मात्र होइन सबल र सक्षम पनि बनाउने छौं’ अध्यक्ष शर्माले भन्नुभयो ।

हिमानी ट्रस्टले महाभूकम्प, बाढी, पहिरो आदिका कारण पीडित–प्रभावित भएका वा अन्य विविध समस्याले पछाडि पारिएका व्यक्तिका लागि राहत वितरण गर्दै र विभिन्न अन्य तरिकाले सघाउँदै आएको पनि शर्माले खुलासा गर्नुभयो ।

हरेक स्टेटमा हिमानी ट्रस्टको स्थानीय समिति रहने र त्यसको नेतृत्व ट्रस्टका लागि छानिएका एम्बेसेडरले गर्ने प्रावधान राखिएको छ । अधिकांश स्टेटमा एम्बेसेडर छनोट भइसकेका र ट्रस्टका लागि बाँकी स्टेटमा पनि छिटै एम्बेसेडर छनोट हुने जानकारी पनि अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो । हिमानी ट्रस्ट युएस अमेरिकाको कानुनअनुसार विधिसम्मत ढंगले दर्ता भई सञ्चालनमा आएको पनि अध्यक्ष शर्माले जानकारी गराउनु भयो ।